नेपाली कांग्रेस र माओवादी नेताहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा र अविश्वास प्रस्तावबारे एउटा रोज्न आग्रह गरेका छन्।
आफू विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव पश्चात मुलुकमा उत्पन्न राजनीतिक र संवैधानिक अन्यौलताबारे छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बोलाएर प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन्।
तीन नेताबीच भएको छलफल पश्चात पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘प्रधानमन्त्रीज्यूले दुई नेताहरुलाई पश्न गर्दै भन्नु भयो, तपाईँहरूले राजीनामा चाहेको हो कि अविश्वास प्रस्ताव यी दुई मध्ये कुन बाटो जान चाहेको हो स्पष्ट पार्नुहोस।’
राजीनामा दिने कुरा राजनीतिक सहमतिका आधारमा र अविश्वास प्रस्ताव असमझदारीका कारण आउने उल्लेख गर्दै उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आफू सधैं सहमतिका आधारमा आगडि बढ्न तयार छु।’
कांग्रेस र माओवादी नेताहरुलाई पनि समझादारी र सहमतिका आधारमा आगाडि बढ्न आग्रह गर्दै ओलीले यसका लागि संविधानमा कुनै खाल्टाखुल्टी भए त्यसमा सहज बनाउन आफू तयार रहेको स्पष्ट पारेको रिमालले बताए।
संवैधानिक अक्षरलाई ख्याल गरी अगाडि जान आग्रह गर्दै उनले भने, ‘यदि दलहरुबीच असमझदारी भएर आगडि जाँदा देशलाई अप्ठेरो पर्न सक्छ र त्यतिबेला हामीले दुःख व्यक्त गर्नु बाहेक केही हुँदैन।’
प्रधान्मन्त्री ओलीले समसामयिक राजनीतिक परिथितीबारे छलफल गर्न र संसदमा विचाराधिन अर्थ विधेयकसँगै त्यसमा आश्रित विधेयक पारित गर्न कसरी दलबीच समझदारी बनाएर आगाडि बढ्न सकिन्छ भनि आफूहरूलाई छलफलका लागि बोलाएको ओलीसँगको भेट पश्चात माओवादी अध्यक्ष प्रचण्डले भने।
‘हामीले मुलुकको राजनीतिलाई सहज निकास दिन राजीनामा दिएर सहज बनाइदिन प्रधानमन्त्री जीलाई आग्रह गर्यौं,’ प्रचण्डले पत्रकारसँग भने।
सरकारलाई समर्थन गरेको एउटा दलले समर्थन फिर्ता लिएपछि सरकार भर्चुअल्ली अल्पमतमा परकोले त्यसबाट उत्पन्न राजनीतिक असहजताको परिस्थितिबाट निकास दिन प्रधानमन्त्रीले राजीनामा दिएर वातावरण सहज बनाइदिए आर्थिक विधयेक पनि पारित हुने र मुलुकले निकास पाउने आफूहरुले राय दिएको उनले बताए।
‘उहाँले अविश्वासको प्रस्ताव सदनबाट पारित भए पनि संधिवान अनुसार नयाँ सरकार बन्ने आधार नभएको भन्दै आफ्नो अडानमा रहेपनि अझै हामीसँग दुई दिनको समय बाँकि छ,’ प्रचण्डले भने, ‘हेरौं यही बीचमा कुनै सहमतिको वातावरण बन्ला।’
प्रधानमन्त्रीको तर्कमाथि जवाफ दिँदै कांग्रेस सभापति देउवाले संविधानको धारा २९८ र संसदीय नियमावली अनुसार नयाँ सरकार गठन प्रकिृयामा कुनै समस्या नभएको भन्दै ओलीलाई वातावरण सहज बनाउन सुझाव दिएका थिए।
तर ओलीले पूर्वनिर्धारित कार्यसूचिलाई थाती राख्दै संसद बैठक स्थगित गरी आफ्नोविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफलको कार्यक्रम राखेर सभामुख ओनसरी घर्तिमगरले तटस्थ भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका थिए।
सभामुखको निर्णयले मुलुकमा असमझदारीलाई बढाउन सक्ने तर्फ दुई दलका नेताहरुलाइृ सजग हुन पनि ओलीले आग्रह गरेका थिए।
आर्थिक विधेयक र त्यसमा आश्रित दुई विधेयक पारित गर्ने कार्यसूचीलाई पर सार्दै सभामुखले बुधबार दर्ता भएको अविश्वास प्रस्तावमाथि साउन ६ गतेदेखि छलफल शुरु गराउने तयारी गरिरहेकी छन्।