दाङमा एक हजार ५ सय ३० द्वन्द्व पीडितले उजुरी दर्ता गराएका छन्। दुई महिनाको अवधिमा स्थानीय शान्ति समिति दाङमा परेको उजुरी ३५ प्रतिशत जति मात्रै हुन आउँछ।
दाङमा ४ हजार २ सय ८६ जना द्वन्द्व पीडितहरु रहेको तथ्याङ्क छ।
स्थानीय शान्ति समिति दाङका सचिव हेमराज अधिकारीले जिल्लामा ३५ प्रतिशतको हाराहारीमा उजुरी दर्ता भएको बताए। दाङमा सत्य निरूपण तथा मेलमिलाप आयोगमा १ हजार ४ सय १ जना द्वन्द्व पीडितले उजुरी दिएका छन् भने वेपत्ता छानविन आयोगमा जम्मा १ सय २९ वटा उजुरी मात्रै परेका छन्।
स्थानीय शान्ति समिति दाङका सचिव अधिकारीका अनुसार शारिरीक तथा मानसिक यातनामा ३ सय ९ जना पीडितले उजुरी पेश गरेका छन्।
त्यस्तै घाइते तथा अपाङ्ग २ सय ८४, सम्पत्ति कब्जा १ सय ४१, विस्थापित १ सय १९, अपहरण ५४, कैद हिरासत तथा नजरवन्द ४८, जागिरबाट विस्थापित १७ र अन्य १७ वटा गरी कुल १ हजार ५ सय ३० वटा उजुरी दर्ता भएको सचिव अधिकारीले बताए।
करिब १ सय ४७ द्वन्द्व पीडितले उजुरी पत्र लगेपनि नबुझाएको पाइएको छ।