स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको स्वास्थ्यको विषयमा जानकारी नपाएर ठुस्स परेका उनका समर्थकहरूको लागि खुसीको खबर। रियल म्याड्रिडका ३१ वर्षीय पोर्चुगिज स्ट्राइकरले भर्खरै सोसियल मिडियामा आफ्नो घुँडाको समस्याको विषयमा नयाँ जानकारी दिएका छन्।
दुई साताअघि युरो कपको फाइनलमा आयोजक फ्रान्सलाई १–० ले पराजित गर्ने क्रममा रोनाल्डो घाइते बन्न पुगेका थिए। खेलको २५ औं मिनेटमा फ्रान्सका डिमिट्री पायटसँग ठोकिन पुग्दा उनको दायाँ घुँडामा चोट लागेको थियो। युरो कपको ऐतिहासिक जितसँगै लामो समयदेखि देशभित्र खुसीयाली मनाइरहेका पोर्चुगिज कप्तानको घुँडाको चोटलाई लिएर विभिन्न अड्कलबाजी चलिरहेको थियो।
चोटकै कारण उनी यसपालिको पूरै सिजन मैदान बाहिर रहने हल्ला पनि चलेको थियो। तर, रोनाल्डोले बाहिर चलेको हल्लाजस्तै आफू गम्भीर घाइते नभएको स्पष्ट पारेका छन्। उनले घुँडाको उपचारको विषयमा सबै जानकारी बाहिर ल्याएका छैनन् तर उनको क्लबले इबिजास्थित एउटा क्लिनिकमा ‘हाइपरबारिक अक्सिजन थेरापी’को माध्यमले छिटोभन्दा छिटो उनलाई पुरानो अवस्थामा फर्काउने काम भइरहेको बताएको छ।
‘के छ तपाईंहरूलाई! मेरा सबै समर्थकलाई म धन्यवाद भन्न चाहन्छु,’ रोनाल्डोले भनेका छन्, ‘म सबैलाई भन्न चाहन्छु, सबै ठिकठाक छ र म पहिलेभन्दा झन् बढी बलियो भएर फर्किनेछु। सबैलाई धन्यवाद। लङ लिभ पोर्चुगल!’
चोटका कारण रोनाल्डोले रियल म्याड्रिडको हाल तय भइसकेको सबै खेल, जसमा विशेष त अमेरिकामा हुने च्याम्पियन्स कपलगायत ला लिगाको सुरुवातको तीन साताको खेल गुमाउने छन्। उनी सेप्टेम्बरको पहिलो सातासम्म फुटबल मैदानमा उत्रिने कुरामा शंका गरिएको छ। यो भएको खण्डमा उनी च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको सुरुवातको खेलमा देखापर्ने छैनन्।