व्यवस्थापिका संसदको बैठक सुचारुका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नयाँ प्रस्ताव अघि सारेका छन्।
बिहीबार बसेको प्रमुख शीर्ष दलसँगको छलफलका क्रममा पौडेलले कांग्रेस र माओवादीसहितका दलहरूले पेश गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्न सुझाएका हुन्।
उनको प्रस्तावमाथि तीन दलमा छलफल चलिरहेको छ। ‘पहिले अविश्वासको प्रस्ताव फिर्ता लिने त्यसपछि प्रधानमन्त्रीले राजीनामा गर्ने प्रस्ताव राखेको छु,’ पौडेलले भने,‘ प्रधानमन्त्रीले राजीनामा दिएपछि मिलेर जान चाहने दलहरू सरकारमा आउने र अन्य दल बिपक्षमा बस्ने प्रस्ताव राखेको छु।’
पौडेलले भोलिसम्ममा निष्कर्षमा पुगिने दाबी गरे।
संसद बैठकको कार्यसूचीबारे तीन दलका शीर्ष नेता र सभामुख ओनसरी घर्तीबीच भएको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि आज बोलाइएको संसद बैठक बस्दैनबसी स्थगित भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए।