व्यवस्थापिका संसदको बैठक बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनले संसदमा पेश गरेको प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफलमा भाग लिन नाम टिपाएका सांसदहरुले बोल्नेछन्।
सांसदहरुले उक्त प्रस्तावमाथि बोल्ने क्रम सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिएपछि आइतबार नै अविश्वासको प्रस्तावमाथि मतदान हुने संसद सचिवालयले जनाएको छ।
ओलीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले पारित हुने दाबी कांग्रेस एमालेका नेताहरुले गरेका छन्। ओली नेतृत्वको मूख्य घटक माओवादी केन्द्रपछि सत्तासाझेदार मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दल सरकारबाट बाहिरिएसँगै अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेपछि बहुमतले पारित हुने पक्कापक्की भएको हो।
अविश्वासको प्रस्तावको पक्षमा नेपाली कांग्रेससहित १३ दलको समर्थनमा असार २९ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता अविश्वास प्रस्तावको सूचना दर्ता गराएका थिए। अविश्वासको पक्षमा झन्डै ३ सय ७० मत पर्ने नेताहरुको दाबी छ।
संसदमा कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, राप्रपा लगायत १९ दल प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा देखिएका छन्।
गत शुक्रवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत दलको समर्थनमा संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव भएपछि सभामुख ओनसरी घर्तीले प्रस्तावमाथि छलफलका लागि तीन दिनको समय तोकेकी थिइन्।