इङ्ल्यान्डका प्रभावशाली ब्याट्सम्यान जोए रुटले ६२ वर्षपछि पाकिस्तानविरूद्ध घरेलु टेष्टमा दोहोरो सतकको कीर्तिमान बनाएका छन्। सन् १९५४ मा डेनिस क्राम्प्टनले ट्रेन्ट ब्रिजमा पाकिस्तानविरूद्ध २ सय ७८ रन बनाएका थिए। त्यसयता कुनै इङ्लिस ब्याट्सम्यानले पाकिस्तानविरूद्ध घरेलु शृखंलामा दोहोरो सतक बनाउन सकेका थिएनन्।
शनिबार राति दोस्रो टेष्टको दोस्रो दिन भ्रमणकारी पाकिस्तानविरूद्ध उनले २ सय ५४ रन बनाएका थिए। यसपछि इङ्ल्यान्डले ८ विकेटको क्षतिमा ५ सय ८९ रन बनाएर पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो।
यो पाकिस्तानविरूद्ध इङ्ल्यान्डको दोस्रो उच्च इनिङ हो। गत वर्ष अबुधावीमा भएको टेष्टमा इङ्ल्यान्डले ९ विकेटको क्षतिमा ५ सय ९८ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो। रुट ओल्ड ट्राफोडमा उच्च रन बनाउने दोस्रो टेष्ट ब्याट्सम्यान पनि बन्न पुगेका छन्। सन् १९६४ मा यही मैदानमा बेरिङ्टनले अस्ट्रेलियाविरूद्ध २ सय ५६ रन बनाएका थिए। रुटको टेष्टमा यो दसौं सतक थियो। जसमा उनी ५ पल्ट १ सय ५० भन्दा बढी रन बनाउन सफल भएका छन्। उनी २ सय ५० भन्दा बढी रन बनाउने इङ्ल्यान्डका १६ औं ब्याट्सम्यान हुन् ।
यस्तै, घरेलु मैदानमै २ सय ५० रन बनाउने उनी नवौं ब्याट्सम्यान हुन्।