प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजिनामा पेश गरिसकेका छन्। शीतल निवास स्रोतका अनुसार संसदमा समबोधन अघि नै उनले राजीनामा पेश गरेका हुन्। प्रधानमन्त्री ओली निकट स्रोतले सेतोपाटीलाई बताए अनुसार संसदमा चलिरहेको सम्बोधनको अत्यमा उनले राजीनामा घोषणा गर्ने छन्।
प्रधानमन्त्री ओलीको टिमका सदस्यले भने,‘सम्बोधनको उहाँले राजीनामा घोषणा गर्नु हुन्छ।’
केही घण्टाअघि बसेको मन्त्रिपरिषद्ले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न बाधा अड्काउ फुकाउ आदेशका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले राजीनामा गर्ने अनुमान गरिएको थियो।
उनी गत असोज २४ गते प्रधानमन्त्रीमा विजयी भएका थिए। प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष ओली ३ सय ३८ मत ल्याइ मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।
तत्कालिन एकिकृत नेकपा माओवादी, राप्रपा नेपाल, राप्रपा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा माले, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल लगायतका दल ओली सरकारमा सहभागी भएका थिए।
सत्ता सहयात्री दल माओवादी केन्द्र, राप्रपा र मधेसी जनअधिकार फोरमले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव संसदमा पेश गरेपछि ओलीले राजीनामा दिएका हुन्। प्रधानमन्त्रीले राजीनामा दिएपछि कांग्रेस, नेकपा माओवादी केन्द्र अन्य साना दलहरु मिलेर नयाँ सरकार गठन हुनेछ ।