रियल म्याड्रिडका स्टार तथा वेल्सका स्ट्राइकर गेरेथ वेलले बाल्यकालकी साथी इम्मा रायस–जोन्ससँग अमेरिकामा बिहे गर्ने पक्का भएको छ। यी दुबै लामो समयदेखिसँगै बस्दै आइरहेका थिए। दुबैबाट २ छोरी जन्मिसकेका छन्। जेठी छोरी अल्बाको ३ वर्षअघि र कान्छी छोरीको यसै वर्ष जन्म भएको थियो। वेलले आफ्नो पहिलो छोरीको जन्म हुनुअघि नै इम्मासँग बिहे गर्न चाहेका थिए।
तर, त्यति नै बेला वेलका हुनेवाला ससुरा रायस–जोन्स ठगीको मामिलामा अमेरिकामा पक्राउ परेपछि उनीहरूको बिहे लम्बिएको थियो। ५१ वर्षीय रायस–जोन्समाथि २ सय ५० व्यक्तिको सेयर घोटाला गरेको आरोप छ। उनलाई ३० लाख अमेरिकी डलर बराबरको घोटालाको आरोप लागेको छ। उनी अहिले १ लाख ५० हजार डलरको धरौटीमा छुटेका छन। तर, न्युयोर्कको अदालतले उनलाई अमेरिकाभन्दा बाहिर जान रोक लगाएको छ। मुद्धा प्रमाणित भएमा उनलाई १० वर्षको जेल सजाय हुन सक्ने बताइएको छ।
केही समयअघि न्यायाधीश ह्यु स्कटको इजलासले जोन्सलाई अमेरिकाबाहिर जान रोक लगाएपछि वेल जोडी जोन्सको आर्शिवाद लिन न्युयोर्कमै विवाह गर्न बाध्य भएको हो। वेलले बिहेमा आफ्ना नजिकका साथी तथा केही सेलिबे्रटीलाई निम्तो दिएको बेलायतका पत्रपत्रिकाले जनाएका छन। उनी यसअघि बेलायतको आफ्नो भव्य महलमा बिहे गर्न चाहन्थे।
वेल गत शनिबार २७ वर्षमा प्रवेश गरेका थिए। यसै दिन कार्डिफको वाइट चर्च स्कुलमा सँगै पढेकी आफ्नी प्रेमिका इम्मालले न्युयोर्कमा बिहेको स्वीकृति दिएको वेलले जनाएका छन्। गत सिजनमा रियल म्याड्रिडलाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण योगदान गरेका वेलको प्रभावशाली खेलका कारण यसै महिना सम्पन्न युरो कपमा वेल्स सेमिफाइनल पुगेको थियो।
उनलाई अनुबन्ध गर्न म्याड्रिडले ८ करोड ६० लाख स्टर्लिङ पाउन्ड खर्चिएको थियो। उनले हाल वार्षिक १ करोड ३० लाख पाउण्ड पारिश्रमिक बुझ्छन्।