वेष्ट इन्डिज भ्रमणअघि केएल (कन्नुर लोकेस) राहुलको छनोटलाई लिएर विवाद नउठेको होइन्। फेरि २०१४ को अन्त्यतिर अस्ट्रेलियाको भ्रमणबाट अन्तर्राष्ट्रिय करिअरको सुरुवात गरेका राहुल भारतीय टिममा भित्र–बाहिर हुँदै आइरहेका थिए।
माथिल्लो क्रममा शिखर धवन, मुरली विजय र चेतेश्वर पुजाराको दह्रो उपस्थितिले गर्दा पनि राहुलको स्थानलाई लिएर बेलाबेलामा कुरा उठ्दै आइरहेको छ। कर्नाटकाका २४ वर्षीय यिनै ब्याट्सम्यानले वेष्ट इन्डिजमा जारी टेष्टमा कमाल गरेका छन्। मुरली विजय औलामा लागेको चोटका कारण दोस्रो टेष्टमा अनुपस्थित भएको मौकाको फाइदा उठाउदै उनले किङ्सटनमा १ सय ५८ रन बनाएका छन्।
राहुलको टेष्टमा यो तेस्रो सतक थियो। हालसम्म ६ टेष्ट मात्र खेलेका उनले यी तीनवटै सतक विदेशी भूमिमा त्यो पनि भिन्न ३ देशविरूद्ध बनाएका हुन्। राहुलले सन् २०१४ मा अस्ट्रेलियाविरूद्ध मेलबोर्नमा भएको पहिलो टेष्टमा ६ नम्बरमा ब्याटिङ गर्दै टेष्ट क्रिकेटमा पर्दापण गरेका थिए। दुवै इनिङमा उनको प्रदर्शन खल्लो भएपछि चौथो सिड्नी टेष्टमा मात्र उनलाई मौका दिइएको थियो। यतिबेला मुरली विजयसँगै उनलाई इनिङको सुरुवात गर्न पठाइएको थियो, जसमा उनले १ सय १० रनको सतकीय इनिङ खेल्दै प्रारम्भिक ब्याट्सम्यानको रूपमा आफूमा प्रचुर सम्भावना भएको प्रमाणित गरेका थिए।
एक बर्षअघि उनलाई फेरि श्रीलंका भ्रमणमा मौका दिइएको थियो। शिखर धवन घाइते बन्न पुगेपछि कोलम्बो टेष्टमा पुनः प्रारम्भमा ब्याटिङ गर्न पाएका उनले १ सय ८ रनको सतकीय इनिङ खेलेका थिए, जसको कारण भारत दोस्रो टेष्ट जित्न सफल भएको थियो। उनलाई यस टेष्टको ‘म्यान अफ दि म्याच’ घोषित गरिएको थियो।
राहुलले किङ्सटनमा पनि प्रारम्भमा ब्याटिङ गर्ने क्रममा सतक बनाएका हुन्। उनको टेष्टमा यो उच्च योगफल हो। राहुलका माता–पिता प्राध्यापक हुन्। उनका पिता डाक्टर केएन लोकेस भारतका महान ब्याट्सम्यान सुनिल गावस्करका फ्यान हुन्। उनले गावस्करको छोराको नाम रोहनबाट आफ्नो छोराको नाम राख्न खोजेका थिए। तर, गल्तिले राहुल हुन पुगेको थियो। गावस्कर पनि आफ्नो जमानाका ख्यातिप्राप्त प्रारम्भिक ब्याट्सम्यान थिए। राहुलले एकदिवसीय क्रिकेटमा पनि एउटा सतक बनाएका छन्। त्यो पनि उनले भारतबाहिरै हरारेमा जिम्बाबेविरूद्ध बनाएका थिए।
राहुलको सतकबाहेक टेष्टमा उच्च रन १६ हो। उनी विकेटपछाडि पनि पोख्त मानिन्छन्। कोलम्बो टेष्टमा विकेटकिपर रिद्धिमान साह चोटग्रस्त भएपछि उनले विकेटपछाडि आफ्नो भूमिका देखाएका थिए। त्यतिबेला दोस्रो इनिङमा उनले श्रीलंकाका एन्जेलो म्याथ्युको क्याच समातेका थिए।