प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयन नगर्ने र मुलुकमा राजनीतिक तथा संवैधानिक रिक्तता कायम गर्ने षड्यन्त्रका साथ सरकार ढालिएको दाबी गरेका छन्।
तुलसीलाल स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनको प्रक्रियालाई आफूले स्वभाविक रुपमा नलिएको भन्दै यसमा षड्यन्त्र र जालझेलको थिचोमिचो रहेको बताए। उनले संविधान च्यातेका, जलाएका र पुनर्लेखन गर्नुपर्छ भन्नेहरु सहभागी हुने सरकारले संविधानको कार्यान्वयन गर्नै नसक्ने ठोकुवा गर्दै संविधान कार्यान्वयन नगरी मुलुकलाई संवैधानिक संकटमा पार्ने नियतसाथ आफू नेतृत्वको सरकार ढालिएको दाबी गरे।
प्रधानमन्त्री ओलीले संविधानले तराईवासीमाथि कुनै किसिमको विभेद नगरे पनि छिमेकी मुलुक भारतले नेपालसँग निहुँ खोज्नका लागि मधेशवादी दललाई अगाडि सारेको तथ्य अहिले पुष्टि भएको दाबी गरे। उनले नौ महिनासम्म आन्दोलन गरेका मधेशवादी दल अहिले आफू विरुद्ध दौडेर संसद्मा आउनु त्यसको गतिलो प्रमाण भएको भन्दै अंगिकृत नागरिकलाई कुनै हालतमा प्रधानमन्त्री र राष्ट्रपति बन्न नदिने बताए। उनले प्रधानमन्त्री र राष्ट्रपति बन्न नेपालमै जन्मिएका नागरिकहरू पर्याप्त रहेको भन्दै अस्ति नागरिकता लिएकाहरुलाई त्यो हक नदिने बताएका हुन्।
प्रधानमन्त्री ओलीले मधेशवादी दलले उठाएका माग सम्बोधन गर्छौं भनेर नक्कली कुरा नगर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी समेत दिए।
कार्यक्रममा नेकपा एमालेका नेता माधवकुमार नेपालले भने माओवादी केन्द्रसँगको गठबन्धन जोगाउन नसकेर एमालेले गल्ती गरेको बताए। उनले संविधान कार्यान्वयनदेखि भारत र चीनसँग भएका सम्झौता कार्यान्वयनका लागि अहिलेकै सरकारको निरन्तरता आवश्यक रहे पनि सरकारलाई निरन्तरता दिनका लागि गठबन्धन जोगाउन नसक्नु एमालेको कमजोरी भएको बताए।
एमाले नेता नेपालले पुरानो गठबन्धन भत्किए पनि संविधान कार्यान्वयनका लागि दलहरुबीच एकताको विकल्प नरहेको बताए।