भारतबाट बिजुली आयात गरेर लोडसेडिङ अन्त्य गर्ने घोषित नीतिका कारण नेपाल विद्युत् प्राधिकरणको यो वर्षको घाटा झन्डै १२ अर्ब रूपैयाँ पुगेको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।
प्रधानमन्त्री केपी ओलीले नौ महिनाअघि कार्यभार समालेदेखि भारतबाट बिजुली आयात गरेर यो वर्ष लोडसेडिङ उल्लेखनीय रूपमा घटाउने र आगामी वर्ष निमिट्यान्न पार्ने घोषणा गर्दै आएका थिए। उनको घोषणालाई मन्त्रिपरिषद्ले पारित गरेको 'राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक' सम्बन्धी कार्ययोजनाले समेटेको छ। सरकारले आगामी वर्ष भारतबाट ६ सय मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको छ।
गत वर्ष पाँच अर्ब १९ करोड घाटा बेहोरेको प्राधिकरणले यसपालि भारतबाट अत्यधिक बिजुली आयात गर्दा झन्डै सात अर्ब रुपैयाँ नोक्सानी सहनु परेको हो। प्राधिकरणले आगामी भदौ १ गते प्रकाशन गर्न लागेको वार्षिक प्रतिवेदनअनुसार यस वर्ष भारतबाट एक अर्ब ७७ करोड युनिट बिजुली आयात गरेको छ। अघिल्लो वर्ष एक अर्ब २७ करोड युनिट बिजुली आयात हुँदा १० अर्ब रुपैयाँ तिर्नुपरेको थियो।
प्राधिकरणले भारत र निजी क्षेत्र गरी यो वर्ष साढे २४ अर्ब रुपैयाँको बिजुली खरिद गरेको छ। प्राधिकरणले अमेरिकी डलरमा भुक्तानी गर्नुपर्ने खिम्ती र स्वदेशी मुद्रामा खरिद गरेको बिजुलीको मोल यस वर्ष साढे आठ अर्ब रुपैयाँ परेको छ।