नेपालको पुरानो अस्पताल वीरमा क्यान्सरका नयाँ बिरामी भर्ना हुन आउनेको सङ्ख्या घटेको छ। अस्पतालको क्यान्सर विभागमा रहेको २२ वर्ष पुरानो रेडियसन मेसिन बिग्रेर काम नलाग्ने भएपछि नयाँ बिरामी भर्ना हुने क्रम घटेको हो।
विभागका प्रमुख डा विवेक आचार्यले मेसिनको कोबाल्ट सोर्स र कम्प्रेसरले काम गर्न नसक्ने भएपछि रेडियसन पद्धतिद्वारा उपचार गर्नुपर्ने बिरामी भर्ना गर्न छाडेपछि बिरामी पहिलेको दाँजोमा कम आउने गरेको बताए।
दैनिक ६० देखि ७० जना क्यान्सरका बिरामी आउने गरेकोमा अहिले दैनिक ३० देखि ४० जना बिरामी मात्र आउने गरेको प्रमुख आचार्यको भनाइ छ।
देशका विभिन्न भागबाट सस्तोमा उपचार पाउने आशामा वीरमा आउने गरिब जनता अस्पतालमा मेसिन बिग्रेर सेवा नै बन्द गर्नुपर्ने अवस्था आए पनि मन्त्रालय र सरकारले नयाँ मेसिन खरिदमा चासो नदिएको विभागमा कार्यरत चिकित्सकले गुनासा गरेका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा गणेश गुरुङले मेसिन नहुँदा क्यान्सर विषयमा अध्ययन गर्दै गरेका विद्यार्थी पनि समस्यामा परेको बताए। उनले मेसिन खरिदका लागि स्वास्थ्य मन्त्रालयमा पुनः पत्राचार गरेको जानकारी दिए।
गत आवमा सरकारले मेसिन खरिदका लागि १२ करोड रुपैयाँ छुट्टाएको थियो। टेण्डर प्रक्रियामा कुरा अगाडि बढ्न नसकेपछि मेसिन किन्ने कुरा सेलाएको थियो।
आधुनिक प्रविधिको नयाँ रेडियसन मेसिन किन्नु परेमा करिब १५ करोड रुपैयाँ चाहिन्छ। उपकुलपति डा गुरुङले अहिले सबै प्रक्रिया पूरा भई मेसिन आउन अझै ५÷६ महिना लाग्ने बताए। विभागमा कार्यरत डा सन्ध्या चापागाईंका अनुसार नेपालमा प्रतिवर्ष ३० हजारभन्दा बढी मानिसलाई विभिन्न खाले क्यान्सर हुन्छ। त्यसमध्ये ७० प्रतिशतभन्दा बढी बिरामीलाई उपचार गर्न रेडियसन (विकिरण) पद्धतिबाट उपचार गर्नुपर्ने हुन्छ।
नेपालमा चार वटा अस्पतालमा मात्रै रेडियसन दिएर उपचार हुने सुविधा छ। वीर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल र पोखराको मणिपाल अस्पतालमा रेडियसन मेसिनको प्रयोग गरेर क्यान्सरको उपचार हुन्छ।
'ती सबै अस्पतालभन्दा वीर अस्पताल नै सस्तो छ, डा चापागाईंले भने,'यहाँ बिरामीले रु पाँच हजार ५०० मा विकिरणको सहायताले उपचार पाउँछन् । बिरामीले तिर्ने त्यो रकम पनि सरकारले क्यान्सर रोगीलाई दिने रु एक लाख राहत रकमभित्रै पर्छ।' उनले वीरमा आएका बिरामीलाई उपचारका लागि भक्तपुर क्यान्सर अस्पतालमा रिफर गर्नुपरेको बताए।
वीरभन्दा बाहिरका अस्पतालमा रेडियसन सहायताबाट उपचार गर्न २५ हजारभन्दा कम पर्छ भने निजी अस्पतालमा उपचार गर्न एक लाखभन्दा माथि पर्ने चिकित्सकको भनाइ छ। 'अरु सरकारी कार्यालयमा स्रोत साधन भएर पनि कर्मचारीले काम नगरेको गुनासो सुनिन्छ,' उनले भने,'हामीलाई काम गर्छौं स्रोत साधन देऊभन्दा पनि पाइँदैन। हामीले मेसिनका लागि पटकपटक मन्त्रालयमा गई छलफल गर्ने भए पनि सुनुवाइ भएको छैन। बिरामीलाई मेसिन छैन भन्दै पठाउन निकै नराम्रो लाग्छ।'
वीरमा आर्थिक २०७०/०७१ मा सात हजार ६८६, आव २०७१/०७२ मा सात हजार ९१९ र आव २०७२/०७३ मा सात हजार ८७७ जना क्यान्सरको बिरामी ओपिडीमा उपचारका लागि आएका थिए। रासस