नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोद्वारा मंगलबार पक्राउ गरेका दुई जना विदेशी महिलालाई महिलाले नै भरिया बनाएर नेपाल पठाएका थिए। बोलिभिजन महिला क्लाउडिओ नेग्रोले कोकिन दिएर पठाएकी रोसी तीन वटा मुलुक पार गरेर नेपाल आइपुगेकी थिइन्।
प्रहरीका अनुसार उनले बोकेको ३ केजी ५४ ग्राम कोकिन थाई महिला वारान्यालाई बुझाउन ‘आदेश’ दिइएको थियो। नाइजेरियन रेमीले भरिया बनाएर थाइल्याण्डबाट पठाएका वारन्या र रोसी भेट हुनका लागि सुरक्षित स्थान भने नेपाल रोजिएको थियो।
ब्युरोका अनुसार कोकिनको सुटकेश बोकेर वारान्या मलेसिया उड्न लागेका बखत अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी थिइन्। उनी मलेसिया हुँदै थाइल्याण्ड उड्न लागेकी थिइन्।
प्रहरीले ३२ वर्षीया थाई महिला वारान्यालाई विमानस्थल र २९ वर्षीया बोलिभियन महिला रोसीलाई नक्सालबाट समातेको थियो। वारान्या पक्राउ गरेपछि उनको वयान पछ्याउँदै प्रहरी रोसी भएठाउँ पुगेको थियो।
ब्युरोले बुधबार पत्रकार सम्मेलन गरेर पक्राउ परेको कोकिन सार्वजनिक गरेको छ। ब्युरोका डिआईजी जयबहादुर चन्दका अनुसार उनीहरू दुबै भरिया बनाएर पठाइएका थिए र त्यसबापत उनीहरूलाई पैसाको प्रलोभन दिइएको थियो।
चन्दका अनुसार थाई महिला वारान्या मलेसियन एयरको जहाजमार्फत काठमाडौंबाट क्वालालाम्पुर हुँदै थाईल्याण्ड जान लागेकी थिइन्। अगष्ट ५ मा नेपाल एयरबाट राजधानी आएकी उनी काठमाडौंका विभिन्न होटलमा बस्दै आएकी थिइन्। उनलाई थाईल्याण्डमा बस्ने नाइजेरियन नागरिक रेमीले कोकिन कारोबार गरेबापत ७० हजार भाट दिने आश्वासन दिएकी थिइन्।
वारान्यालाई रोसीले उक्त कोकिनको सुटकेश बुझाएकी थिइन्। प्रहरीको अनुसन्धान अनुसार त्यो सुटकेश बोलिभियन नागरिक क्लाउडिओ नेग्रोले ३१ जुलाईमा बोलिभियामा रोसीलाई दिएकी थिइन्। उनले तीन हजार अमेरिकी डलर पाउने प्रलोभनमा सुटकेश बोकेको खुलेको छ।
रोसी ३१ जुलाइमा बोलिभियाबाट ब्राजिल, २ अगष्टमा इथियोपिया हुँदै नयाँ दिल्ली, ३ अगष्टमा काठमाडौं र १२ अगष्टमा दुबई जाने तयारीमा थिइन्। थाई महिला वारान्या र बोलिभियन महिला रोसीको पक्राउबाट नेपाल लागुऔषधका अन्तर्राष्ट्रिय कारोबारीको ‘ट्रान्जिट प्वाइन्ट’ देखिएको छ।
घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामाथि चुनौती दिएको छ। कोकिन बोकेर विमानस्थलबाट विदेशी महिला बाहिरिँदा प्रहरीले थाहा पाएको थिएन। ब्युरोले यो हुनुमा विमानस्थलको सुरक्षामाथि औंला ठड्याएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक गणेश केसीले नेपालबाट बाहिर जाने क्रममा सुरक्षा व्यवस्था कडा रहेकोे र त्यसैक्रममा थाई महिला कोकिनसहित पक्राउ परेको बताए। पक्राउ परेका महिलामाथि लागुऔषध नियन्त्रण ऐन बमोजिम अनुसन्धान थालिएको छ।
यो घटनामा प्रयोग भएको रुट लागुऔषधका अन्तर्राष्ट्रिय कारोबारीलाई एकदमै छोटो रहेको प्रहरीको भनाइ छ। विदेशी नागरिकमाथि विमानस्थलमा निगरानी फितलो हुँदा राजधानीलाई लागुऔषधका अन्तर्राष्ट्रिय कारोबारीले ‘ट्रान्जिट’ बनाएको डिआईजी चन्दले बताए। ‘थाइल्याण्डमा लागुऔषधमा कडाइ रहे पनि प्रयोगकर्ता कम छैनन्, त्यसैले त्यहाँ लागुऔषध बढी ओसारिन्छ,’ चन्दले भने।