राप्रपाका अध्यक्ष पशुपतिशमशेर जबराले आफूहरु पार्टी एकताका नाममा निरिह भएर राप्रपा नेपालसँग शरण माग्ने पक्षमा नरहेको बताएका छन्।
राप्रपा अध्यक्ष राणाले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राप्रपाले पार्टी एकताका लागि ढोका बन्द नगर्ने तर त्यसका नाममा स्वाभिमान र आत्मसम्मानलाई बन्धक राखेर राप्रपा नेपालसँग एकता नगर्ने बताएका हुन्।
उनले एकता प्रक्रियामा रहेको पार्टीका अध्यक्षले तल्लोस्तरको गालीगलौजको भाषा प्रयोग गरेर आफ्नो चरित्र हत्या गर्नु दुर्भाग्यपूर्ण भएको भन्दै कार्यकर्ताले दुई पार्टीबीच एकता चाहेकाले धारे हात लगाएर गाली नगर्न राप्रपा नेपालका अध्यक्ष कमल थापासँग आग्रह गरे।
राप्रपा नेपालले साउन २५ गते पत्रकार सम्मेलन गरी राप्रपामाथि सत्ता स्वार्थमा लागेको आरोप लगाउँदै एकताको अध्याय समाप्त भएको बताएको थियो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राणामाथि सरकारमा मन्त्री पठाएर राजनीतिक बेइमानी गरेको आरोप समेत लगाएका थिए। तर राप्रपाका अध्यक्ष राणाले भने प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा भोट हालेको पार्टीले सरकारमा मन्त्री पठाउनु कुनै आश्चर्यको विषय नभएको जवाफ दिएका छन्।
‘मैले कुनै पनि राजदूत भेटेको छैन। वार्तामा बसेको मान्छेले त्यति तल्लोस्तरको कुरा गर्नु भनेको लाजमर्दो हो,’ उनले भने,‘अहिलेको अवस्थामा एकता आवश्यक छ। त्यसैले हाम्रो तर्फबाट प्रयास गरेका हौं तर, राप्रपा नेपालका अध्यक्षसहितका केही नेताहरुले हाम्रो चरित्रहत्या गर्ने, तल्लोस्तरको गाली गर्ने काम गरे। यो हाम्रा लागि दुर्भाग्यपूर्ण छ।’
एकता घोषणा सभा हुन नसकेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले भारतीय राजदूत भेटेपछि बोलि फेरेको र अदृष्य शक्तिको चलखेलबाट एकता भाँडिएको आरोप लगाएका थिए।
आफ्नै समकक्षीलाई गाली बेइज्जत गरेर कसैको इज्जत नबढ्ने भन्दै राणाले अन्तरिम विधानअनुसार कुरा नमिलेकाले केही दिन एकता घोषणा पछि सारौं भनेर थापालाई भनेको प्रष्ट्र पारे।
राप्रपाले आफ्नो सबै स्वाभिमान आत्मसम्मानलाई बन्धक राखेर राप्रपा नेपालसँग निरीह भएर एकता गर्न नजाने प्रष्ट पारेका छन्।
पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष लोकेन्द्रबहादुर चन्द र उनी पक्षका प्रभावशाली नेताहरु अनुपस्थित थिए। यद्यपि, चन्द खेमामा रहेका नेता डा. प्रकाशचन्द्र लोहनी भने उपस्थित थिए।