प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीका ९ जनालाई समावेश गरी मन्त्रीपरिषद् तेस्रोपटक विस्तार गरेका छन्।
नेपाली कांग्रेसले मन्त्री हुनेको नाम उपलब्ध नगराएपछि प्रधानमन्त्री दाहालले सपथ खाएको ११ औं दिनमा आइतबार पार्टीका नेतालाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। तेस्रोपटकको विस्तारसँगै मन्त्रिपरिषद् १८ सदस्यीय भएको छ।
विस्तारित मन्त्रीपरिषद्मा पाँच जना मन्त्री र ४ जना राज्यमन्त्री थपिएका छन्। पाँच मन्त्रीमध्ये जनार्दन शर्मालाई उर्जा, हितराज पाण्डेलाई स्थानीय विकास, राम कार्कीलाई सूचना तथा संचार र अजयशंकर नायकलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ भने धनीराम पौडेलको मन्त्रालय तोकिएको छैन।
पौडेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिने भनिएकामा उक्त मन्त्रालय नेपाली काँग्रेसले आफ्ना लागि राख्न प्रधानमन्त्री दाहालसँग आग्रह गरेका कारण पौडेल विनाविभागीय मन्त्री नियुक्त भएका हुन्। पाँचमन्त्री मध्ये गोरखाबाट निर्वाचित पाण्डे तथा समानुपातिक सांसद्हरु कार्की, नायक र पौडेल मन्त्रीपरिषद्मा नयाँ अनुहार हुन्। रूकुमबाट निर्वाचित शर्माले मन्त्रिपरिषद्मा स्थान पाएको यो दोस्रोपटक हो। उनले यसअघि शान्ति तथा पुनर्निमाण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
यस्तै, पाँचथरका समानुपातिक सांसद् श्रीप्रसाद जबेगुलाई स्थानीय विकास, धनकुटाकी समानुपातिक सांसद् धनमाया विकलाई विनाविभागीय, नुवाकोटकी समानुपातिक सांसद् राधिका तामाङलाई कृषि विकास तथा रौतहटबाट निर्वाचित सांसद् सत्यनारायण भगतलाई उर्जा राज्यमन्त्रीमा नियुक्त गरिएको छ।
नवनियुक्त पाँच जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तथा चार जना राज्यमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार अपरान्ह पद् तथा गोपनियताको सपथ खुवाएका छन्। राष्ट्रपति निवासमा आयोजित मन्त्रीहरुको सपथग्रहण समारोहमा सहभागी हुन संचारकर्मीहरुलाई रोक लगाइएको थियो।