नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने पक्षमा पार्टी नरहेको स्पष्ट पारेका छन्।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रिजालले भने, ‘काँग्रेस यसबारेमा स्पष्ट छ, अहिले हामीले डा. गोविन्द केसीले उठाएका शिक्षा र स्वास्थ्यसम्बन्धीको माग पुरा हुनुपर्छ भन्ने पक्षमा छौं। त्यो बाहेक हामीले केही सोचेका छैनौं। राजनीतिक मुद्दामा अहिले हामी छलफल गर्न तयार छैनौं।’
त्यस्तै मधेशी मोर्चाका नेता अनिल झाले पनि कार्कीलाई महाअभियोग लगाउने पक्षमा मोर्चा नभएको स्पष्ट पारेका छन्। झाले भने, ‘यो बेमौसमको बाजा हो। यस्तो मुद्दामा मोर्चाको कुनै चासो छैन। महाअभियोग लगाउनु अहिले आवश्यकत्ता नै छैन। न त यसको कुनै औचित्य नै छ।’
नेता रघुविर महासेठले अख्तियार प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाउने हल्लाप्रति टिप्पणी गर्दै भने, ‘यसबारेमा पार्टीले स्पष्ट रुपमा भनिसकेको छ। यो जरुरी छैन, डा. केसीका राजनीतिक माग पूरै गलत छन्।’ उनले डा. केसीलाई महाअभियोग लगाउने कुरा गरेकोमा आक्रोश पोख्दै भने,‘उहाँले राजनीतिक गर्नुपर्यो अनि यो कुरा उठाउन मिल्छ। होईन भने किन यस्तो बहस गरिरहनुभएको छ ?’
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक पर्शुराम तामाङ्ले कार्कीलाई महाअभियोग लगाउनुपर्छ भनेर अनावश्यक बहस गरिएको बताउँदै भने, ‘अख्तियारले सुशासन र भ्रष्टाचार उन्मुलन गर्नेगरी काम गरिरहेको छ, हामीले आयोगलाई सघाउनुपर्छ ।’
तामाङ्ले अहिले प्रमुख आयुक्तमाथि महाअभियोग लगाउनेबारेमा पार्टीले कुनै छलफल नै नगरेको स्पष्ट पारे।