मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले मन्त्री नियुक्त हुन बाँकि मन्त्रालय सम्हाल्ने गरी आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएको छ।
फोरम लोकतान्त्रिकले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मन्त्री नियुक्त भइसकेका आकर्षक मन्त्रालय पाए मात्र सरकारमा सहभागी हुने बताएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले चौंथोपटक मन्त्रिपरिषद् विस्तार गरेसँग महिला, बालबालिका तथा समाजकल्याण, पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि र खानेपानी तथा सरसफाइ मन्त्रालयमा मात्र मन्त्रीविहिन छन्। फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अहिले जुन् मन्त्रालय खालि छन् ती मन्त्रालयका लागि पार्टी सरकारमा सहभागी नहुने बताएका हुन्।
उनले मन्त्री नियुक्त हुन बाँकि रहेका मन्त्रालयका लागि सरकारमा जाँदा पार्टीको अपमान हुने भन्दै आकर्षक मन्त्रालय दिने वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे।
फोरम लोकतान्त्रिकको केन्द्रीय कार्यसम्पादन समितिको बैठककले सम्मानजनक उपस्थितिको परिस्थिति निर्माण भए मात्र सरकारमा जाने निर्णय गरेको छ। फोरम लोकतान्त्रिकले स्थानीय तहको संख्या कम्तिमा ११ सय बनाइनुपर्ने तथा प्रदेशको सीमांकन हेरफेर सम्बन्धी मधेशवादी दलहरुको माग सम्बोधनका लागि झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई टुक्र्याइनुपर्ने बताएको छ।