२०१३ साल वैशाख २० गते। काठमाडौंको बसन्तपुर डबली क्षेत्र।
लाग्थ्यो त्यो दिन, सारा नेपाली उल्टिएर यही क्षेत्रमा जम्मा भएका हुन कि! यही दिन राजा महेन्द्रको राज्याभिषेक हुँदै थियो, वसन्तपुरस्थित नासलचोकमा। समारोहमा भाग लिन विदेशबाट निम्त्याइएका थिए, १५ विशेष अतिथि।
जसमा भारत र बेलायतका राजदूत पर्ने नै भए। यसबाहेक भारतको दिल्लीमा रहेका फ्रेन्च राजदूतको पनि उपस्थिति थियो।
तर, मेरा लागि यी सबैमा विशेष थिए, भुटानी प्रधानमन्त्री जिग्मे पाल्देन दोर्जी।
भुटानी प्रधानमन्त्री जिग्मेसँग मेरो चिनजान पुरानै हो। मैले २००९ सालमा दार्जिलिङको सेन्ट जोसेफ (नर्थ प्वाइन्ट) स्कुलबाट सिनियर क्याम्ब्रिज गर्दा जिग्मेका भाइ लेन्दुप अर्थात लेनी दोर्जी (नेपालमा पहिलो क्यासिनो खोल्ने मान्छे) पनि एउटै कक्षामा पढ्थे। लेनीका कारण भुटानका तत्कालीन नरेश जिग्मे दोर्जी वान्चुकसँग पनि मेरो राम्रै चिनजान थियो। कारण, प्रधानमन्त्री जिग्मे भुटानका तत्कालीन नरेश जिग्मे वान्चुकका जेठान थिए। भुटानका तेस्रो राजा वान्चुक आफ्ना साला लेनीलाई भेट्न नर्थ प्वाइन्ट आइरहन्थे। दार्जिलिङ आयो कि, राजा वान्चुक मसँग बोल्न आइरहन्थे। सायद म नेपाली भएर हो कि!
राजा वान्चुकको नेपाली दार्जिलिङेजस्तो थियो। तर, कुराचाहिँ अंग्रेजीमा गर्न रुचाउँथे। धेरै पछि मैले अर्को कुरा पनि थाहा पाएँ, राजा जिग्मे र मेरा बाजे रामशमशेरबीच पनि दोस्ती रहेछ।
महेन्द्रको राज्याभिषेकमा प्रधानमन्त्री जिग्मेसँगै उनका माइला भाइ युगेन पनि आउन खोजेका रहेछन्। तर, के भएछ, खोई? उनलाई अतिथि बनाएर ल्याउन नमिल्ने भन्दै दाजु जिग्मेले ल्याउन मानेनन्।
भूटानमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु भाषण गर्दै। साथमा प्रधानमन्त्री जिग्मे दोर्जी।
२०१३ सालमा हामी टंगाल बस्थ्यौं। म त्यतिबेला त्रिचन्द्र कलेज पढ्थेँ। एकदिन यसो बाहिर हेरेको, मेरो घर अगाडि एक्कासि एउटा गाडी टक्क रोकियो। मलाई निकै कौतूहल जाग्यो। यसो हेरेको, जिग्मे एकजना अपरिचित मान्छेसँगै मेरो घरतिर पो आउँदैथिए। सुरुमा चकितै परेँ। उनले नै आफूसँग आएको मान्छेसँग परिचय गराए- पाल्देन दोन्डुप नाम्ग्याल, सिक्किमका युवराज।
नाम्ग्यालसँग त्यो मेरो पहिलो भेट थियो। उनी पहिलो भेटमा त्यति रमाउन सकेनन् क्यार! गाडी लिएर फर्किहाले। यी दुबैलाई राणा शासनका अन्तिम प्रधानमन्त्री मोहनशमशेरको लक्ष्मी निवासमा बस्ने व्यवस्था मिलाइएको थियो। त्यतिबेला लक्ष्मी निवासको बैठक अति सुन्दर थियो, सिलिङमा पनि पेन्ट गरिएको। अहिले त्यो बैठकको अवस्था कस्तो छ, मलाई थाहा छैन।
पहिलो भेटमा नाम्ग्यालसँग लामो कुरा त हुन सकेन। तर, उनी हाम्रो घरको बगैँचाबाट निकै प्रभावित भएछन्। वास्तवमा उनलाई पनि फूलको खुब सोख रहेछ। हिँड्ने बेला जिग्मेको कानमा खुसुक्क भन्न भ्याएछन्– फूलको हाँगा माग्देऊ ल!
***
राज्याभिषेक सकिएपछि विदेशी अतिथि फर्किने क्रम जारी थियो। यसैक्रममा यी दुबैलाई तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोपी र फुल लगाएर बिदाइ गर्दै थिए। बगैँचामा फूलको हाँगाको कटिङ बनाउँदा बनाउँदै कतिबेला ढिलो भएछ, पत्तै पाइनँ। तर पनि म र भाइ प्रबल ‘कार्नेसन’ पुर्याउन हानिदै विमानस्थल पुग्यौं।
विमानस्थल पुग्दा उनीहरूको बिदाइ भएर प्लेन उड्न मात्र बाँकी रहेछ। तर, हामीलाई देख्नेबित्तिकै जिग्मे प्लेनतर्फ जानुको सट्टा फरक्क फर्किए। प्रधानमन्त्री टंकप्रसाद एकछिन त ट्वाल्ल परे। उनलाई लागेछ– को रहेछन् यी ठिटा! बिदावारी भइसकेका मान्छे यिनलाई भेट्न किन बाहिर आएको!
जिग्मेलाई फूल ल्याएको भनेको मात्र के थिएँ, नाम्ग्याल पनि हामी उभिएको ठाउँमा टुप्लुक्क आइपुगे। जिग्मेले दायाँ–बायाँ कतै नहेरी च्याप्प मेरो हातको पाखुरा समाते। र, भने, ‘जाउँ हिँड भुटान।’ त्यतिबेलाको चलनै थियो, बुवालाई नसोधी कतै नहिँड्ने। मलाई पर्यो धर्मसंकट। लेनीको दाजु भएको हुनाले म पनि उनलाई आफ्नै सहोदर दाजुजस्तै मान्थेँ। उनी पनि मलाई खुब माया गर्थे। त्यही पनि भारी मनले उत्तर दिएँ, ‘नाइँ, अहिले मिल्दैन। पछि आउँला।’
विमानस्थलमा फूलको उपहार दिएपछि जिग्मेलाई पनि लाग्छे, बदलामा मलाई के गिफ्ट दिने? एकछिनमा आफ्नो लियाजोलाई अह्राए,‘कुपया, मेरो गाडीबाट भुटानको झन्डा निकालेर ल्याइदिनुहोस्।’
राज्याभिषेकमा आउँदा सबै विदेशी पाहुनालाई घुम्नका लागि बेग्लाबेग्लै गाडी व्यवस्था गरिएको थियो। जिग्मेका लागि व्यवस्था गरिएको गाडीमा भुटानको एउटा सानो झन्डा झुन्डयाएको रहेछ। सुरुमा मैले सोच्न सकिनँ, घर फर्किन लागेका जिग्मेले झन्डा किन मगाए? पछि पो थाहा पाएँ, उनले मलाई उपहार दिन त्यो झन्डा मगाएका रहेछन्। कस्तो रमाइला! नेपालमा भुटानको झन्डा पहिलो पल्ट महेन्द्रको राज्याभिषेकको अवसरमा फहरियो। त्यो पनि मेरो हातमा।
झन्डा मेरो हातमा थमाउँदा उनी हाँसिरहेका थिए तर, झन्डा उल्टो रहेछ। झन्डाको रातो भाग तल हुनुपर्ने, माथि पो रहेछ।
नेपालमा फहरिएको पहिलो भुटानी झन्डा। इन्सेटमा भुटानी प्रधानमन्त्री जिग्मे पाल्देन दोर्जी
यो घटनापछि जिग्मेसँग लामो समय मेरो भेट हुन सकेन। एकै पल्ट सन् १९६३ (२०१९) को जनवरी १ भारतको कोलकातामा भयो। म कामको सिलसिलामा १९६२ डिसेम्बर अन्त्यमा कोलकाता पुगेको थिएँ। उनी त्यतिबेला कोलकाता आएका रहेछन्। कोलकाताको टिबोरी कोटमा उनको फ्ल्याट नै थियो।
त्यतिबेला मेरो बिहे भइसकेको थियो। त्यसैले मलाई लाग्यो, नयाँ वर्षमा उनीसँग भेट पनि हुने र आफ्नी श्रीमतीसँग परिचय पनि गराउन पाइने। एकाबिहानै श्रीमती बोकेर हानिदै उनको फ्ल्याट पुगेँ। पहिले मलाई भेट्नेबित्तिकै खुसी हुने जिग्मे त्यो दिन भन्दै थिए, ‘ओहो यार! ढिलो आइस् नि!’
म अकक न बक्क। झन् श्रीमती बोकेर गएको। पछि थाहा पाएँ, त्यही दिन कोलकोताको रेस–कोर्समा घोडा दौड रहेछ। जिग्मे जुवाका सोखिन थिए। उनलाई त्यहाँ जान हतार भएको रहेछ। मलाई उल्टै सोधे, ‘जान्छस्, दौड हेर्न?’
त्यतिबेला मेरो खल्तीमा जम्मा ४० रुपियाँ थियो। मैले सिधै भनिदिएँ, ‘जान्नँ। तर, उसले मेरो श्रीमतीतर्फ फर्किँदै भन्यो, ‘तिमी जान्छौं?’ मेरी श्रीमतीलाई के थाहा, श्रीमानको खल्तीमा ४० रुपियाँ मात्र छ भनेर! फेरि उनका लागि घोडा दौड नितान्त नौलो थियो। उनले केही नसोची स्वीकृति दिइन्, ‘हुन्छ, जान्छु।’
अब मलाई बुढीका लागि पनि जानैपर्ने बाध्यता भयो। जाने कुरामा सहमति बन्दै के थियो, जिग्मेले अर्को सर्त अगाडि राखे- दौड हेर्ने भए सुट लगाउनुपर्छ। त्यतिबेला नियम रहेछ, ‘रेस–कोर्स’ मा प्रवेश पाउन अनिवार्य सुट लगाउनैपर्ने। खल्तीमा ४० रुपैयाँ। फेरि लुगा फेर्न टयाक्सीमा डेरा आउनुपर्ने। यतिबेला मैले लाज नमानी जिग्मेसँग आग्रह गरेँ, ‘त्यसो भए दाजु, तपाईँको गाडी दिनुपर्यो।’
नभन्दै उनले गाडी उपलब्ध गराए। हामी लुगा फेरेर हानिदै ‘रेस-कोर्स’ पुग्यौं। भुटानको प्रधानमन्त्री भए पनि जिग्मे कोलकातामा घोडा दौडमा बाजी लगाउन तारम्तार आइरहन्थे। यहाँ भुटानी राजाको घोडा ‘किङ सन’ मात्र थिएन, मेरा काका महावीरशमशेर राणाको ‘इलेक्ट्रिक सक’ पनि थियो। मैले जिग्मेकै पछि
लागेर पहिलो पल्ट घोडा दौडमा बाजी लगाउने कला पनि सिकेँ। रेस-कोर्समै मेरो परिचय बलिउड स्टार सम्मी कपुरसँग पनि भएको थियो। उनी पनि नामुद जुवाडे रहेछन्। पछि त उनीसँग बसेर तास पनि खेल्न भ्याइयो।
१९६३ मा जिग्मेलाई उनको फ्ल्याटमा भेट्न जाँदा उनीसँगै भुटानका अर्का नरेश जिग्मे सिग्मे वान्चुक पनि थिए। त्यतिबेला उनी ७ वर्षका थिए।
कोलकातामा जिग्मेको आगमनसँगै हाम्रो खुब जम्थ्यो। साह्रै मजाका मान्छे, बसुन्धरा (राजा महेन्द्रका भाइ) जस्तै। उनलाई केही राम्रो भन्ने नहुने, लौजान भनिहाल्ने।
१९६४ को अप्रिल ६ मा उनको भारत र भुटानको बोर्डर मानिने फुन्चोलिङमा हत्या भयो। कोलकाताबाट भुटान फर्कदा जिग्मे हामीसँग बिदा मागेर गएका थिए। उनी भन्दै थिए, ‘महाजङ (चिनियाँ जुवा) खेल्न जान्छु।’ हत्याभन्दा एकदिन अघि जिग्मे आफ्नी श्रीमतीलाई फुन्चोलिङमा कुरेर बसेका थिए, सँगै भुटान छिर्न। उनी भाउजुभन्दा एकदिन अघि नै कोलकाताबाट हिँडेका थिए। हत्या हुँदा उनको हातमा तासको पत्ता थियो।
उनी सधै मसँगै भन्ने गर्थे– बुझयौ भाई! म मर्दा मेरो हातमा तास होस्।
नभन्दै, उनको इच्छा पूरा भयो। फुन्चोलिङमा साथीहरूसँग रमाइलो गर्दै तास खेलिरहेको बेला अर्को घरको झयालबाट अज्ञात व्यक्तिले उनलाई गोली हान्यो। गोलीले उनलाई छेडेर बुहारी सावित्री (युगेनकी श्रीमती) को हातमा पनि लागेको थियो।
कोलकातामा उनको हत्याको खबर सुन्दा म एकछिन स्तब्ध भएँ। त्यही दिन हानिदै फुन्चोलिङ पुगेको थिएँ। उनलाई अन्तिम श्रद्धान्जली दिएपछि पुनः कोलकाता फर्किएँ। अहिले पनि म उनको अनुहार झलझली सम्झन्छु। अझ, उनी प्रधानमन्त्री भएका बेला भुटान घुम्न नगएकोमा पछुतो पनि लाग्छ।
(८३ वर्षीय राणाले नवीन अर्यालसँग कुराकानीमा आधारित)