भारत र वेष्ट इन्डिजबीच अमेरिकाको फ्लोरिडामा भएको क्रिकेट खेलमा टि–२० इतिहासकै सबैभन्दा धेरै रन बनेको छ। दुबै टोलीले मिलेर ४० ओभर खेल्ने क्रममा ४ सय ८९ रन बनाएका छन्। दुवै टोलीबाट कूल १० विकेट मात्र झरेको थियो।
यसअघि टि–२० क्रिकेटमा सर्वाधिक रन ४ सय ६९ बनेको थियो। सन् २०१० मा इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सुपर किङ र रोयल्स च्यालेन्जरले टि–२० मा मिलेर सर्वाधिक रन बनाएका थिए।
अमेरिकाको फ्लोरिडामा दुइवटा टि–२० प्रतियोगिता खेल्न पुगेका भारत र वेष्ट इन्डिजले शनिबार राती बिस्फोटक ब्याटिङ गरे। निकै रोमाञ्चक यस खेलमा वेष्ट इन्डिज १ रनले विजयी भयो। अन्तिम ओभरमा ७ रन मात्र खर्चिएका ड्वाने ब्राभो निर्णायक बने। उनले अन्तिम बलमा जीतका लागि भारतलाई आवश्यक २ रन बनाउन भारतीय कप्तान महेन्द्रसिह धोनीलाई रोकेका थिए। उनको अन्तिम ‘स्लोअर’ बललाई बाउन्ड्री कटाउने लोभमा धोनीले थर्डम्यानमा बसेका मार्लोन स्यामुअललाई क्याच थमाएका थिए।
भारतले टस जितेर वेष्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको थियो। बिस्फोटक ब्याट्सम्यान क्रिस गेलको अनुपस्थितिमा ब्याटिङ गर्न उत्रिएको वेष्ट इन्डिजका लागि जोन्सन चार्लस र इभिन लेविसले पहिलो विकेटमै १ सय २६ रनको बिस्फोटक साझेदारी गरेका थिए। उनीहरूले ९ छक्का र ५ चौकाको सहयोगले ४८ बलमै सतकीय साझेदारी गरेका थिए। चाल्र्सले ७ छक्का र ६ चौकाको सहयोगले ३३ बलमा ७९ रन बनाएका थिए।
लेविसले ४८ बलमा ९ छक्का र ५ चौकाको मद्धतले सतक बनाए। उनी टि–२० मा कम बलमा छिटो सतक बनाउने पाँचौ ब्याट्सम्यान बन्न पुगेका छन्। यस्तै वेष्ट इन्डिजबाट क्रिस गेलपछि दोस्रो बिस्फोटक ब्याट्सम्यान बन्न पुगे। गेलले इङ्ल्यान्डविरूद्ध ४७ बलमा सतक बनाएका थिए।
वेष्ट इन्डिजले ६ ओभरको ब्याटिङ पावर प्लेमा ७८ रन जोडेको थियो। ६ विकेटको क्षतिमा २ सय ४५ रन बनाउनुअघि वेष्ट इन्डिजले १० ओभरमा सर्वाधिक रन बनाउने इतिहासलाई पनि चुम्यो। वेष्ट इन्डिजले अघिल्लो १० ओभरमा १ सय ३२ रन बनाइसकेको थियो।
यसअघि यो कीर्तिमान दक्षिण अफ्रिकाको नाममा थियो। दक्षिण अफ्रिकाले सन् २००९ मा सेन्चुरियनमा इङ्ल्यान्डविरूद्ध अघिल्लो १० ओभरमा सर्वाधिक १ सय ३१ रन बनाएको थियो। वेष्ट इन्डिजले बनाएको २ सय ४५ रन टि–२० मा एउटै टोलीले बनाएको तेस्रो ठूलो योगफल पनि थियो। यसअघि श्रीलंकाले केन्याविरूद्ध २ सय ६० र अस्ट्रेयिाले इङ्ल्यान्डविरूद्ध २ सय ४८ रन बनाएको थियो।
भारतका तर्फबाट केएल राहुलले बिस्फोटक ब्याटिङ गरे। उनले ४६ बलमा ५ छक्का र ११ चौकाको मद्धतले सतक बनाएका थिए। ४६ बलमा सतक बनाएका राहुल टि–२०मा कम बलमा सतक बनाउने दोस्रो ब्याट्सम्यान बन्न पुगेका छन्। यसअघि दक्षिण अफ्रिकाका रिचर्ड लेभीले ४५ बलमा सतक बनाएका थिए। उनी लेभीको कीर्तिमानलाई बराबरी गर्न १ बलले चुके। राहुलले २६ बलमा ५० रन पुरा गरेका थिए। उनले अर्को ५० रन थप्न उनले २० बलमा खेले।
राहुलले पुरै खेलमा ५१ बलमा अविजित १ सय १० रन बनाए। तर, भारतलाई जित दिलाउन सकेनन्। कप्तान महेन्द्रसिंह धोनीले पनि २५ बलमा २ चौका र २ छक्काको सहयोगले ४३ रन बनाए। प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले ४ चौका र ४ छक्काको मद्धतले २८ बलमा ६२ रन बनाएका थिए। रोहितले २२ बलमा अर्धसतक पुरा गरेका थिए।