सत्तारुढ नेकपा माओवादी केन्द्र सम्बद्ध उद्योगी व्यवसायीहरुले उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने खालका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन्।
माओवादी केन्द्र सम्बद्ध उद्योगी व्यवसायीहरुको संगठन राष्ट्रिय उद्योग व्यापार संगठनले आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री दाहाललाई १० बुँदे ज्ञापनपत्र बुझाउने क्रममा उत्पादन बढाउने कार्यक्रम ल्याउन माग गरेको हो।
संगठनले पूँजीगत बजेट पूरै खर्च गर्न, सरकारी निकायको उच्चतहमा स्वदेशी उत्पादनको अनिवार्य रुपमा प्रयोग गर्ने व्यवस्था गर्न तथा निर्यातजन्य वस्तुमा अधिकतम अनुदान दिन माग गरेको छ। संगठनका संरक्षक कृष्णप्रसाद आचार्यले युवाशक्तिको विदेश पलायन रोकी उनीहरुलाई मुलुकभित्रै रोजगारी दिने र उद्यमशीलतामा लाग्ने खालका कार्यक्रम ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिए।
संगठनले प्रधानममन्त्री दाहाललाई बुझाएको ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थाबाट सस्तो ब्याजदरमा सरलरुपमा परियोजना कर्जा दिने व्यवस्था गरिदिन पनि माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले उत्पादन बढाएर आयातलाई निरुत्साहित गर्ने खालका कार्यक्रम ल्याउने विषयमा आफूले सम्बद्ध निकायसँग छलफल गरिरहेको बताए।