प्रसुतीका लागि अस्पताल लगिएकी महिला र बच्चाको मृत्यु भएपछि राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा तनाव उत्पन्न भएको छ। दाङको हेकुली गाविस वडा नं. २ पदमपुर निवासी २७ वर्षीया विमला न्यौपाने र उनको बच्चाको मृत्यु भएपछि आफन्तले अस्पतालले उपचारमा लापरबाही गरेको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन्।
अस्पतालमा तनावको स्थिति सृजना भएपछि प्रहरी प्रशासनले पहरा दिइरहेको छ। न्यौपानेका पति ४० वर्षीय रोमहर्ष न्यौपानेले अस्पतालले गल्ती स्वीकार नगर्दा र क्षतिपूर्ति उपलब्ध नगराउँदासम्म शव नबुझ्ने बताएका छन्। उनले औषधीको ओभर डोजका कारण आफ्नी श्रीमती र बच्चाको मृत्यु भएको दाबी गरेका छन्।
उनले भने, ‘ओभर डोज औषधी दिएर डा. विनोद सिंह सुत्नगए र नर्स नभएकोले बिरामीको छटपटाएरै मृत्यु भयो।’
तर राप्ती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. भोलाराम श्रेष्ठले भने गर्भको पानी रक्त सञ्चार प्रणालीमा गएपछि न्यौपानेको दुर्घटनावस मृत्यु भएको बताए। उनले यस्तो घटना दुर्लभ हुने भएकोले विरामीलाई बचाउन गाह्रै हुने जानकारी दिए।
अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल चलिरहेको छ। आईतबार विहान ११ बजेतिर व्यथा लागेपछि ल्याईएकी न्यौपानेको स्थिति राति साढे नौ बजेसम्म सामान्य नै थियो । तर एकाएक गर्भभित्र बच्चा बस्ने ठाउँको पानी आमाको रक्तसञ्चार प्रणालीमा गएकोले रातको सवा १२ बजेतिर उनको मृत्यु भएको अस्पतालले प्रशासनले जनाएको छ।