सत्तारुढ नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले १६ वर्ष मुनीका बालबालिकालाई सदस्यता नदिने निर्णय गरेको छ ।
नेविसंघको ११ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले विद्यालय शान्ति क्षेत्रको अवधारणालाई सम्मान गर्दै १६ वर्ष मुनीका विद्यार्थीलाई सदस्यता नदिने निर्णय गरेको हो।
कार्यसमितिले गरेका १० बुँदे निर्णय बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले विद्यालयमा हुने दलीय राजनीतिलाई कम गर्नका लागि १६ वर्ष मुनीका विद्यार्थीलाई सदस्यता नदिने निर्णय गरेको बताए।
उनले अन्य विद्यार्थी संगठनहरुलाई पनि विद्यालय तहका विद्यार्थीलाई सदस्यता नबाँड्न प्रस्ताव गर्ने बताए।
राजनीतिक दल नै पिच्छे रहेका विद्यार्थी संगठनहरुले स्कुले विद्यार्थीहरुलाई सदस्यता बाँडेर पठनपाठनमा असर पुग्ने गरी राजनीतिक गतिविधिमा संलग्न गराउँदै आएका छन् ।
नेविसंघले आफ्ना सदस्यहरुलाई शैक्षिक संस्था, व्यापारिक घराना र अन्य संस्थाबाट चन्दा उठाउन नदिने निर्णय पनि गरेको छ । नेविसंघका अध्यक्ष महरले शैक्षिक संस्था र व्यापारिक घरानाबाट आफुखुशी चन्दा असुल गरेको पाइए संघले कारवाही गर्ने र सरकारलाई पनि कारवाही गराउन लगाउने बताए।
विद्यार्थी संगठनका धेरैजसो केन्द्रीय नेताहरुले शैक्षिक संस्थाहरुबाट चन्दा उठाएर जीविका चलाउँदै आएका छन् । नेविसंघले मधेशी र आदिवासी जनजाति सम्बद्ध दलका माग सम्बोधन गरेर संविधानको कार्यान्वयनका लागि देशव्यापीरुपमा दवाबमुलक कार्यक्रम गर्ने र दवाबमुलक कार्यक्रमको सुरुवात प्रजातान्त्रिक आन्दोलनका क्रममा सहिद् भएका कामेश्वर कुशेश्वरको स्मृति दिवसका दिन धनुषाको यदुकुवाबाट गर्ने निर्णय गरेको छ ।