महोत्तरीका सीमावर्ती क्षेत्रमा रहेका मदिरा पसल स्थानीय प्रशासनले बन्द गराएको छ।
भारतको बिहार राज्यमा मदिरा प्रयोग र बिक्री वितरणमा रोक लगाएपछि भारतीय सुरक्षा अधिकारीले सोको कार्यान्वयनमा सहयोग गर्न नेपाली पक्षलाई आग्रह गरेपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले अन्तर्राष्ट्रिय सीमाबाट ५ सय मिटरभित्र सञ्चालन भएका एक सयभन्दा बढी मदिरा पसल बन्द गराएको छ।
महोत्तरीको जलेश्वर नगरपालिकालगायत मटिहानी, सम्सी, मलिवारा, बथनाहा, खैरबन्नी, रघुनाथपुर, नैन्ही, सुगा, सिस्वाकटैया गाविसका मदिरा पसल बन्द गराइएको हो। महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले अन्तर्राष्ट्रिय सीमाको संवेदनशीलता बुझेर ५ सय मिटर भित्रसम्म मदिरा पसल सञ्चालन गर्न नपाउने निर्णय गरिएको बताए।
प्रजिअ यादवका अनुसार भारतीय सीमानासंग जोडीएका सो गाविस र नगरपालिकामा पर्ने दश गजादेखि ५ सयमिटरभित्र रहेका मदिरा पसल बिहीबारदेखि लागू हुनेगरी ३० दिनभित्र हटाउन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निर्णय गरिएको बताए। सोको बर्खिलाप हुने कुनै काम गरेमा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने उनले बताए।
सो सीमा क्षेत्रमा साँझ पर्ने बित्तिकै अत्यधिक भिडभाड बढ्ने गरेको थियो। ४० वटा पसल त बिहारमा मदिरा प्रतिबन्ध लागेपछि खुलेको प्रहरीले जनाएको छ।
ग्राहकले मदिरा सेवन गरेपछि होहल्ला गर्ने, चेलीबेटी जिस्क्याउने र झगडा बढेको स्थानीयको गुनासो बढ्दै गएको थियो। व्यापारीले व्यवसाय व्यवस्थित गरी समय निर्धारण गरेर सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्।
आइतबार सरकारी बिदा हुने भएकोले शनिबारदेखि नै बिहारुँग जोडिएका नेपाली बजारका सम्पूर्ण होटेल तथा लज भारतीय ग्राहकले भरिभराउ हुने गरेका छन्।
बिहारमा सबै किसिमको मदिरामाथि प्रतिबन्ध लागेपछि बिदा मनाउने बहानामा खुल्ला किसिमले रक्सी सेवन गर्न नेपाल भित्रिएको एक होटल सञ्चालकले बताए। नेपाली सीमावर्ती गाउँमा मदिरा सेवन गर्न भारतीय ओईरिन थालेपछि यस क्षेत्रको महोल नै फेरिएको छ।
यसले नेपालको सीमा क्षेत्रमा आपराधिक चरित्र भएका भारतीय नागरिकको गतिविधि बढ्न सक्ने भन्दै सुरक्षा अधिकारीले केही समय ‘थ्रेट’ हुनसक्ने चिन्ता व्यक्त गरेका छन्। आपराधिक चरित्र भएका बढी रक्सी खाने र उता प्रतिबन्ध भएपछि यता आएमा आपराधिक घटना वृद्वि हुन सक्ने भएकाले सुरक्षा चुनौति बढ्ने भन्दै शंकास्पद व्यक्तिमाथि कडा निगरानी राखिएको छ।
यता स्थानीय प्रशासनले भारतीय सीमासँग जोडिएका गाविसमा मदिरा उत्पादन र बिक्रीको नयाँ ईजाजतमा पनि रोक लगाएको छ। प्रशासनले घरेलु तथा साना उधोग कार्यालय, आन्तरिक राजस्व कार्यालय जनकपुर र जलेश्वर नगरपालिकाको कार्यालय जलेश्वरमा पत्राचार गरी नयाँ ईजाजत दिन रोक लगाएको हो।