कञ्चन डंगोल, २०, बिबिए अध्ययन गर्दैछिन्। विदेश जाने चाँजो पनि मिलाउँदै छिन्।
उनको एउटा इच्छा हो, मोडलिङ गर्ने। यसका लागि बेलाबेला फोटोसुट पनि गराउँदै आएकी छन्।
यिनै कञ्चन भेटिइन्, भृकुटीमण्डपको प्रदर्शनीगृहमा जारी नाडा अटो सोमा, जसलाई उनले आफ्नो मोडलिङ इच्छा पूरा गर्ने माध्यम ठानेकी छन्।
‘एक जना चिनेको दाइले प्रस्ताव गर्नुभयो, मलाई पनि मोडलिङको इच्छा थियो, आएँ,’ कञ्चनले सेतोपाटीसँग भने, ‘सानैदेखि इच्छाएको काम गर्न पाएकाले रमाइलो लाग्दैछ।’
तीन दिनदेखि जारी अटोमोबाइलको ‘कुम्भमेला’ नाडा अटो शोमा विभिन्न ३६ अटोमोबाइल कम्पनी सहभागी छन्। दुईपांग्रे, चारपांग्रेका साथै हेभी इक्यूपमेन्ट र अटोमोबाइलसँग सम्बन्धित विभिन्न सामग्री यहाँका आकर्षण हुन्। र, उत्तिकै आकर्षण र चासो बनेका छन्, सवारी साधनको व्यावसायिक प्रवर्द्धनमा खटिएका कञ्चनजस्तै मोडलहरू।
सवारी साधनसँगै मोडल रहने चलन नयाँ होइन। कुनै पनि नयाँ सवारी साधन सार्वजनिक गर्नुपर्ने हरेक कम्पनीले मोडल प्रयोग गरेकै हुन्छ। नेपालमा मात्र होइन, भारत, चीन, अमेरिकासँगै सबैजसो मुलुकमा सवारी साधनको प्रवर्द्धन गर्ने तरिका यही हो। सवारीमा मात्र होइन, कुनै पनि उत्पादन सार्वजनिक गर्दा मोडल राख्ने चलन सबैतिर छ।
यसको कारण के भने, कुनै पनि उत्पादनको सफलता या बजार त्यसको ग्ल्यामरसँग जोडिएको हुन्छ। र, ग्ल्यामर कुनै न कुनै रूपमा सुन्दर मोडलसँग जोडिने विज्ञापन एजेन्सीका प्रतिनिधिहरू बताउँछन्।
अन्तर्राष्ट्रिय बजारमा यस्ता कार्यक्रममा पुरुष मोडलको पनि उत्तिकै सहभागिता हुन्छ। कहीँ त सेलेब्रेटीहरूलाई नै ब्रान्ड एम्बेसडरका रूपमा प्रयोग गरिन्छ। यही प्रयास नेपालमा सुरु भएको पनि निकै वर्ष बितिसकेको छ। नाडा अटो शोले सुरुआतदेखि नै यसलाई निरन्तरता दिँदै आएको छ।
शोमा विभिन्न हाउभाउका साथ सवारी सार्वजनिक गर्नु र दिनभरि उभिएर, मुस्कुराउँदै ग्राहकका प्रश्नको धैर्यपूर्वक उत्तर दिनु नै यी मोडलका काम हुन्।
नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ प्रालिले आफ्नो स्टलमा करिब ४ जना मोडल राखेको छ। प्रत्येकलाई कुनै एक सवारी साधन अगाडि राखिएको छ।
कञ्चन पनि होन्डा ब्रान्डका सवारीको प्रवर्द्धनमा खटिएकी एक मोडल हुन्।
उनी पहिलोपटक यस्ता कार्यक्रममा सहभागी भएकी हुन्। बिहान करिब ९ बजेदेखि बेलुकी ५ बजेसम्म उनी गाडीसँगै उभिन्छिन्। मुस्कुराउँदै, बेलाबेला आफ्नो शृंगार सम्याउँदै आकर्षक देखिने प्रयास गर्छिन्। ग्राहकका प्रश्नको यथाशक्य जवाफ पनि दिन खोज्छिन्।
आफ्नो खुसी र रहरले सबै कामबारे जानकारी भएरै आएकाले कामप्रति गुनासो नभएको उनको भनाइ छ।
‘हामीलाई यहाँ ल्याउँदै सबै कुरा भनिएको हुन्छ। पेमेन्टदेखि लिएर कामबारे सबै बताइन्छ। त्यो सबै मलाई मान्य छ भनेरै म आएको हुँ। कसैले जबर्जस्ती ल्याएको भए पो समस्या,’ उनले भनिन्, ‘मजस्तै कयौं मोडल सिक्न, बुझ्न र कमाउन भनेरै यहाँ आएका छन्।’
यस्ता शोका मोडल छनौट कसरी हुन्छ त?
होन्डाका सिनियर म्यानेजर शरद ढुंगेलका अनुसार कम्पनी वा उसको विज्ञापन एजेन्सीमार्फत् मोडलसँग सम्पर्क गरिन्छ।
‘मोडल छान्दा प्रायः सम्पर्कमा रहेकाहरूबाटै छान्ने हो। कोही विद्यार्थी, कोही साथी, कोही चिनजानका त कोही व्यावसायिक मोडल नै छन्। हामीकहाँ भने विद्यार्थी र मोडलिङमा करिअर बनाउन चाहने बहिनीहरू धेरै हुनुहुन्छ,’ ढुंगेलले भने।
उनका अनुसार मोडलहरूसँग सम्पर्क भएपछि जिम्मेवारी र भुक्तानीका बारेमा कुराकानी हुन्छ। त्यसपछि सहमति भएपछि ती मोडललाई तालिम दिएर शोका लागि तयार पारिन्छ।
मोडलिङमा करिअर सुरु गर्न चाहनेले यस्ता शोबाट सुरु गर्दा धेरै फाइदा हुने कञ्चनको भनाइ छ।
‘यसरी बस्दा काम सिक्न पाइन्छ। चिनजान र सम्पर्क बढ्छ। हाम्रो पढाइलाई पनि यसले सपोर्ट गर्छ,’ कञ्चनले भनिन्, ‘अर्को कुरा त पेमेन्ट पनि हो।’
उनका अनुसार यहाँ ६ दिन काम गरेबापत १२ हजार रुपैयाँ पाइन्छ। त्यसमा थप ३ हजार खाजा खर्च हुन्छ।
दिनभरि उभिएर हाँस्दै बस्नुपर्दा गाह्रो भने हुने उनी स्विकार्छिन्। ‘अग्लो जुत्ता लगाएर उभिन गाह्रो नहुने त कुरा हुँदैन। राति सुत्ने बेला खुट्टा करकर खान्छ। कुनै ग्राहकले समस्या पनि ल्याउँछन्। तर यी सबै कुरा प्रमुख होइनन्। ग्राहकको समस्या आए हामी यहाँ कम्पनीका प्रतिनिधिलाई भन्छौं र उतै सल्टिन्छन्। रह्यो कुरा शारिरीक पीडाको, काम गर्न बसेपछि त्यो त जहाँ पनि हुन्छ,’ उनले थपिन्, ‘हामीले यही गर्ने भनेर आएपछि काम गर्न गाह्रो मानेर हुँदैन। साह्रै समस्या हुँदा हामी साथी पालो मिलाएर आराम पनि गर्छौं।’
यस्ता शो आफ्नो सिकाइ र पेशाका लागि फाइदाजनक हुने भएकाले आफ्नो रोजाइमा परेको उनी बताउँछिन्। ‘यहाँ आउनाले हाम्रो आत्मविश्वासको स्तर र लोकप्रियता बढ्छ। नाडा भन्नेबित्तिकै मिडियामा कभरेज हुने विषय हो। यसले हामीलाई नै फाइदा हुन्छ। त्यसमाथि आर्थिक हिसाबले पनि राम्रो छ,’ उनले भनिन्।
शोमा केही विदेशी मोडल पनि छन्। केटिएम ड्यूक मोटरसाइकल, फियाट गाडीको स्टलमा विदेशी मोडल सजिएर बसेका देखिन्छन्।
यिनै विदेशी मोडलमध्ये एक छिन् रोक्स्याना मे टटल। २४ वर्षीया रोक्साना फियाटका गाडीसँगै मोडल बनेर उभिन्छन्। उनी अमेरिकाकी हुन् तर दुई वर्षदेखि नेपालमै बस्दै आएकी छन्। आफ्नो परिवारसँग काठमाडौंको विशालनगरमा बस्दै आएकी रोक्स्याना परिवारकै कारण नेपाल आएको बताउँछिन्। उनका आमाबाबु नेपालमा क्यासिनो व्यवसाय सञ्चालन गर्दै आएका थिए।
उनी आफूलाई व्यावसायिक मोडल नभई ‘फ्रिल्यान्सर’ का रूपमा चिनाउन चाहन्छिन्। उनी गत वर्ष पनि फियाटको स्टलमा थिइन्। ‘गत वर्ष मेरो एक जना साथीले फियाटले शोका लागि विदेशी मोडल खोजिरहेको छ भनेर खबर गरेपछि म आएकी हुँ। मलाई मोडलिङमा रुचि छ र यो मेरा लागि राम्रो प्लेटफर्म हुन्छ भनेर आएकी हुँ,’ उनले भनिन्।
रकमबारे भने उनले खुलाउन चाहिनन्। भनिन्, ‘उनीहरूले राम्रो पैसा दिएका छन्, म सन्तुष्ट छु।’
नाम र दाम कमाउनका साथै केही सिक्न र बुझ्न आएको उनको भनाइ छ।
मोडलको सुविस्ता र सुरक्षाका लागि भने अझै व्यवसायिक रूपमा धेरै काम गर्न बाँकी रहेको उनीहरू स्वीकार गर्छन्। नेपालमा मोडलिङ पेसा नै राम्ररी फस्टाई नसकेकाले यसमा विभिन्न समस्या रहेको उनीहरूको भनाइ छ। समयक्रमसँगै ती विस्तारै सुल्झँदै जानेमा उनीहरू आशावादी पनि छन्।
तस्विरः नारायण महर्जन