संसारकै तीब्र धावक उसेन बोल्ट र मध्यदुरीका च्याम्पियन मो फराहको अन्तिम दौड हेर्न १० लाख दर्शकले टिकट व्यवस्था गरिदिन निबेदन दिएका छन्।
९ वटा ओलम्पिक स्वर्ण जितेका जमैकाका उसेन बोल्ट र लन्डन तथा रियो ओलम्पिकमा गरि लगातार ४ वटा स्वर्ण जितेका मो फराह आउँदो वर्ष अन्तिम पल्ट ट्रयाकमा देखा पर्दैछन्। उनीहरू लन्डनमा आयोजना हुने विश्व च्याम्पियनसिपमा भाग लिएपछि अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्न्यास लिँदैछन्।
३० वर्षिय बोल्टले रियोमा स्वर्णको ‘ट्रिपल–ट्रिपल’ गरेपछि ओलम्पिक खेलबाट सन्न्यास लिएका थिए। फराहले पनि ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए। उनी सन् २०१७ पछि आफ्नो नियमित स्पर्धा छोडेर म्याराथनमा केन्द्रित हुँदैछन्।
आयोजकहरूले दिएको जानकारी अनुसार विश्व च्याम्पियनसिपका लागि ७ लाख टिकटको व्यवस्था गरिएको छ। तर, यि दुई स्टार खेलाडीको दौड हेर्न १० लाख ४७ हजार टिकट उपलब्ध गराइदिन अनुरोधसहित निवेदन दर्ता भएको छ। अझ, बोल्टको सय मिटर दौडको फाइनल हेर्न मात्र २ लाख व्यक्तिले टिकट उपलब्ध गराउन आग्रह गरेका छन्। च्याम्पियनसिप आयोजना हुने लन्डनको क्विन्स एलिजावेथ ओलम्पिक पार्क इङ्लिस प्रिमियर लिग क्लब वेष्ट हामको घरेलु मैदान हो। यसको दर्शक क्षमता ५० हजार रहेको छ।