पहिलो पटक ड्रिम गार्डेनभित्र छिर्नेवित्तिकै अगाडि एउटा जोडी एक आपसमा हात सुमसुम्याउँदै अल्लारिँदै थिए। सम्भवतः त्यतिबेला त्यो जोडी स्वप्न बगैंचामा कल्पनाका सुन्दर फूलहरू फुलाउँदै थियो होला। उनीहरुको चर्तिकला देखेर मलाई अप्ठेरो लागिरहेको थियो, अलिअलि रिस उठेको थियो। मनमनै भनेको पनि थिएँ, कस्ता लाज नभाका केटाकेटी। अनुहार पनि नहेरी उनीहरूको बायाँतर्फबाट म अगाडि बढ्दै थिएँ। पछाडिबाट कोही करायो। 
	 
	‘ओए! टपर।’
	 
	पुलुक्क पछाडि हेरेँ। जोडी त मेरो स्कुले साथी सुरजको पो रहेछ। एसएलसीपछि हामी गाउँकै क्याम्पस भर्ना हुँदा काठमाडांै छिरेको सुरज म पहिलोचोटी काठमाडौं पस्दा केटीसँग हात जोडेर हिँड्ने भइसकेछ। पढाइमा औसत भए पनि धनी बाउको एक्लो छोरो सुरज केटी पट्याउन भने सँधै फस्ट। म पढाइमा फस्ट हुने भएकोले मलाई टपर भन्थ्यो।  
	 
	सुरजलाई देखेपछि म टक्क अडिएँ। मेरो नजिकै आएर उसले आफूसँग रहेकी केटीसँग चिनजान गरायो। मेरा आँखा सुरजभन्दा केटीतिर तानिए। आकर्षक शरीर, मृगनयनी आँखा, हेरिरहुँ लाग्ने अनुहारसँगै उनको मन्द मुस्कान। सुनेको थिएँ सहरमा त राम्राराम्रा केटीमात्रै हुन्छन्। हो जस्तै लाग्यो। यति भएपछि सुरजले के छोड्थ्यो? भित्रभित्रै सुरजदेखि डाहा लागेर आयो। 
	 
	हामी सँगसँगै केही अगाडिसम्म घुम्यौं। उसले सुरज र मेरो फोटो खिची। हामी दुई जनाको बीचमा उभिएर सेल्फी पनि खिची। त्यसपछि हामी छुट्टियौं। छुट्टिँदा सुरजले बाई भन्यो, उसले बिदाइका हात हल्लाई।
	...
	 
	म अनलाइनमै थिएँ। मेरोमा ट्याग गरेर सुरजले आफ्नो गर्लफ्रेण्डले खिचेको हामी दुई जनाको फोटो फेसबुकमा पोष्ट गर्यो। पोष्ट हुनेबित्तिकै जुली महर्जन भन्ने केटीले कमेन्ट गरी, ‘ह्याण्डसम बोथ अफ यू!’
	 
	फेसबुकमा तत्कालै कमेन्ट गर्ने केटीको रिक्वेस्ट आयो मलाई। अनलाइनमै थिएँ, प्रोफाइलमा गएर हेरेँ। ऊ त्यही केटी रहिछे सुरजको गर्लफ्रेण्ड, जसलाई सुरजसँगै ड्रिम गार्डेनमा भेट्टाएको थिएँ। तुरुन्तै एक्सेप्ट गरेँ। 
	 
	‘थ्याङ्क यु सो मच,’ एक्सेप्ट गर्नेवित्तिकै म्यासेज आयो, ‘मैले मिस गरिराथेँ।’
	 
	म दंग परें। मिस गर्नलाई त सुरज छँदै थियो। मलाई किन मिस गर्नु? जेसुकै होस् भन्ठानेर ‘वेलकम’ लेखेर पठाएँ।  
	 
	ड्रिम गार्डेनमा खिचेको सेल्फी फोटोसँगै फेरि म्यासेज आयो, ‘यु आर सो ह्याण्डसम।’
	 
	‘अनि सुरज ह्याण्डसम छैन?,’ मैले प्रश्न सोझ्याएँ।
	 
	‘छन त छ!,’ उसले भनी, ‘बट नट मोर द्यान यु।’
	 
	म्यासेज देखेर म फेरि दंगदास भएँ। संसारमा आफ्नो प्रेमीभन्दा सुन्दर त अरु को पो लाग्छ होला र? उसको आँखामा के भ्रम परेछ कुन्नी? उसै पनि सुरज म भन्दा ह्याण्डसम छ। मलाई के भनौं भनौं भयो, रिप्लाई गर्नै छोडेँ। 
	...
	 
	दसैं मनाउन म घर गएको बेला सुरज गाउँमै भेटियो। बेलाबखत सुरज र जुली दुबैसँग औपचारिक कुरा भए पनि त्यसपछि काठमाडौंमा हाम्रो भेट भएन। सुरजले अस्ट्रेलिया जाने तयारी गरिरहेको बताएपछि मैले उसलाई जिस्क्याएँ। 
	 
	‘अनि जुली? उलाई पनि सँगै लान्छस्?’ 
	 
	‘अहँ, ऊ त पढ्न थालिसकी। बिहे गरेर यतै छोड्छु। बिहे नगरी जाने हो भने आउँदासम्म के हो के हो?’ 
	 
	उसले शंका व्यक्त गर्यो। यसो भनिरहँदा उसको आँखामा निराशाको छाया प्रष्टै देखिन्थ्यो।
	 
	दसैं–तिहार सकेर म काठमाडौं फर्किएँ। मंसिर महिनाको एक साँझ सुरजले फोन गरेर भन्यो, ‘भोलि मेरो बिहे छ, गुह्येश्वरी जसरी पनि आउनू।’ मैले आउने बचन दिँदै फोन राखेँ।
	 
	भोलिपल्ट बिहानै गुह्येश्वरी पुग्दा दोस्रोचोटी त्यो जोडीलाई फेरि देखेँ। सुरज र जुली मलाई कुरिरहेका थिए। उनीहरूसँग न अरु कोही थियो, न त बिहेका लागि सामग्री नै। 
	 
	मैले जिस्क्याएँ, ‘बिहे हो कि डेटिङ?’ 
	 
	‘बिहे!,’ सुरज लजाउँदै जुलीतिर हेर्यो अनि जाउँ भन्दै मन्दिरतिर लम्कियो। जुली र म उसको पछिपछि लाग्यांै। 
	 
	मन्दिर अगाडि पुगेपछि जुलीलाई आफ्नो समानान्तर उभिन इसारा गर्दै सुरजले भन्यो, ‘ल हामी भगवान् साक्षी राखेर कसम खाऔं अब उप्रान्त हामी कहिल्यै छुट्टिने छैनौं।’
	 
	जुली लजाएर टाउको हल्लाई। दुबैले हात जोडेर आँखा बन्द गरे। आँखा बन्द गरेर उनीहरूले के–के देखे? के–के मागे कुन्नी? म भने ट्वाल्ल परेर हेरेको हेरै भएँ। 
	 
	आँखा खोलेर दुबै जनाले एकतमासले मलाई हेरे। अनि मुस्कुराए। सुरज त बोल्यो पनि, ‘ल बिहे सकियो।’ 
	 
	‘सिन्दुर छैन?,’ मैले फेरि जिस्क्याएँ।
	 
	‘छैन!,’ सुरज सुस्तरी बोल्यो।
	 
	‘अनि सिन्दुर नहाली बिहे हुन्छ त?,’ मैले अप्ठेरो पर्नेगरी सोधेँ। 
	 
	उसले अनुहार निन्याउरो बनायो। उसलाई लाग्यो होला, ‘हुन पनि हो सिन्दुर नहाली बिहे हुँदैन।’ उसले केही नबोली गोजीबाट पर्स निकाल्यो। 
	 
	मलाई लाग्यो पर्समा सिन्दुर होला। तर, उसले सिन्दुर हैन पर्सबाट ब्लेड निकाल्यो, आफ्नो हातको कान्छी औंला चर्र चिर्यो। औंलाबाट रातो रगत बुलबुल निस्क्यो। त्यही रक्ताम्मे औंलाले जुलीको सिउँदो  भरिदियो। 
	 
	जुलीका आँखाबाट आँसुका थोपाहरू तप्पतप्प जमिनमा झरे। सुनेको थिएँ आफ्नो सिउँदोमा सिन्दुर पर्दा हरेक नारीको आँखाबाट आँशु झर्छ। साँच्चिकै जुलीले प्रमाणित गरिदिई। 
	...
	 
	सुरजको अस्ट्रेलिया जाने दिन आयो। म उसलाई बिदा गर्न अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थिएँ। अन्तर्राष्ट्रिय प्रस्थान गेटको एकछेऊमा सुरज र जुली देखिए। दुबैका आँखाभरि पीडाका तालहरू छचल्किरहेका थिए। सुरजभन्दा जुलीको भावुकता अलि बढ्तै देखिन्थ्यो। उसो त सुरज पनि कम्ता दुःखी थिएन, जुली भने भक्कानिएरै रोइरहेकी थिई। उनीहरूको मनले के भनिरहेको थियो होला? त्यसलाई म शब्दमा वर्णन गर्न सक्दिनँ। 
	 
	साँझ साढे पाँच बजे सुरजको फ्लाइट। पुलिसले समय सकिएको संकेत गर्न थालिसकेको थियो तर उनीहरू अंगालोबाट छुट्टिन मानिरहेका थिएनन्। सायद बसजस्तो सजिलै अर्को प्लेनमा जान मिल्दो हो त उनीहरू पनि अर्को जहाज अंगालिएरै कुर्दा हुन तर त्यो सजिलै सम्भव थिएन। पुलिसले समय सकिएको अन्तिम संकेत गरेपछि सुरजले अंगालोबाट छुट्टिएर बिदाइका हात हल्लायो। ऊभित्र छिरेपछि जुली टर्मिनल बाहिर निस्की।
	 
	मेरो अगाडि मौन उभिएकी जुली केही नबोलेपछि आफैंले मुख खोलेँ, ‘जुली अबेर भयो, घर जाऔं।’ 
	 
	उसले टाउको हल्लाई र मेरो पछि लागि। 
	 
	विमानस्थल गेट बाहिरबाट हामी ट्याक्सीमा तीनकुने–वानेश्वर–माइतीघर–सुन्धारा हुँदै जमल पुग्यौं। 
	 
	‘जमल चोकबाट थोरैभित्र जुलीको घर छ,’ सुरजले पहिल्यै भनेको थियो। ट्याक्सी त्यही रोक्न लगाएर हामी ओर्लियौं। सुरजसँग छुट्टिएदेखि एक शब्द पनि नबोलेकी जुली त्यहाँ पनि बोलिनँ। 
	 
	मलाई कीर्तिपुर फर्किन अबेर भएकोले उसलाई सोधेँ, ‘तिमी जान्छ्यौ? मलाई ढिला भइसक्यो, म जाउँ?’ 
	 
	उसले टाउको हल्लाई र सुँक्क गरी। 
	 
	पुस महिना अँध्यारोले छिट्टै सम्राज्य बसाइँ सकेकोले मैले उसको अनुहार देखिनँ। सायद ऊ रोएको हुनुपर्छ। 
	 
	...
	 
	जुलीसँगको मेरो सामीप्यता त्यतिमा मात्रै सीमित रहेन। त्यसपछि फेसबुकमा गफिँदा गफिँदै हामीबीचको भावनात्मक दुरी मेटिइसकेको थियो। 
	 
	एक दिन उसले फोन गरेर भनी, ‘एक्लै खाना पकाउन झ्याउ लाग्दैन?’
	 
	‘लाग्छ नि! तर के गर्नु?,’ प्रत्युत्तरमा मैले भनेँ।
	 
	‘केटी खोज्दिउँ त?,’ उसले भनी।
	 
	‘को छ र?’
	 
	‘मेरी बैनी छ। लिन्छौ?’ 
	 
	‘लिन्नँ।’
	 
	‘किन?’
	 
	‘साथीको बैनी, मेरो पनि बैनी!’
	 
	‘उसो भए म आउँ त?’
	 
	‘अहँ! हुँदैन।’
	 
	‘किन?’
	 
	‘तिमी साथीको श्रीमती!’
	 
	‘अनि साथीको श्रीमती, मेरो पनि श्रीमती भन्दैनौं?’
	 
	ओहो! कस्तो अप्ठ्यारो प्रश्न? कस्तो अनौठो अनुभूति! अँध्यारो कोठाभित्र कसैले बेस्सरी अँगालेको आभास भयो। मन कठोर बनाएर भने, ‘भन्दिनँ, साथीकै श्रीमती भन्छु। र मान्छु पनि।’
	 
	‘भो, उसो भए आउँदिन।’ 
	 
	यत्ति भनेर छुट्टिएकी जुली त्यसपछि मसँग कहिल्यै बोलिनँ।
	...
	‘ओइ! जुलीले त अर्कै केटासँग बिहे गरी रे त,’ सुरजले धेरैपछि म्यासेज गर्यो, ‘तलाईं केही थाहा छ?’ 
	 
	ओहो! कस्तोे आश्चर्य खबर! जुलीले मसँग त साथीको नाता मात्रै तोडी, सुरजसँग त गरेका बाचा, खाएका कसम र विश्वासका सबै डोरी सबै चुँडाइछ। अझ भनौं, उसको मुटु नै टुक्राटुक्रा पारिछ। यतिबेला सुरजको मन कति दुखेको होला? 
	 
	सुरजलाई के भनेर म्यासेज गरौं? हुन त जुलीका पनि आफ्ना व्यक्तिगत इच्छा, जैविक आवश्यकता र पारिवारिक बाध्यता थिए होलान्। बिहे गरेको कुरा दुबैले आफ्ना परिवारलाई भनेका थिएनन्। जुलीको बिहे परिवारले पो गरिदियो कि? यी र यस्तै प्रश्नहरू मनमा खेलाउँदै अहिलेसम्म सुरजलाई रिप्लाई गर्न सकेको छैन।