उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाइएको पत्र सार्वजनिक गर्नु कुटनीतिक मर्यादा विपरित हुने बताउँदै आएकामा उनकै पार्टी नेपाली काँग्रेसले पत्र लुकाउन नपाइने बताएको छ।
काँग्रेसका सांसद्ले भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट बुझाइएको पत्र व्यवस्थापिका संसद्मार्फत सार्वजनिक गर्न माग गरेका छन्।
संसद्को सोमबार बसेको बैठकमा काँग्रेसका सांसद्द्वय अर्जनप्रसाद जोशी र रामहरि खतिवडाले संविधान संशोधन नेपालको आन्तरिक मामिला भएको भन्दै आन्तरिक मामिलाका बारेमा भारतीय प्रधानमन्त्री मोदीलाई बुझाइएको पत्रमा के लेखिएको छ भन्नेबारे नेपाली जनताले थाहा पाउनपर्ने बताए। उनीहरुले पत्र तत्काल सार्वजनिक गरेर यो विषयमा धेरै हल्ला गरिरहने वातावरण नबनाउन सरकारको ध्यानाकर्षण गराए।
यसअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् र संसदीय समितिको बैठकमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई बुझाइएको पत्र सार्वजनिक गर्न माग गरेको थियो। उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भदौको पहिलो साता भारत पुगेर भारतीय प्रधानमन्त्री मोदीलाई दाहालले लेखेको पत्र बुझाएका थिए।