जनयुद्धले सिंगो नेपाल आक्रान्त थियो २०५८÷५९ तिर। यसै सिलसिलामा माओवादीले विद्यालय पढ्दै गरेका विधार्थीहरूमा ‘सामन्ती’ शासन व्यवस्थाको अन्त्य र वर्गीय समानताका लागि भन्दै तीव्र प्रशिक्षण र गोष्ठी बढाइरहेका थिए। भर्खर ९ कक्षामा पढ्दै गरेको म उनीहरूका कोचिङले प्रभावित हुन्थे। उनीहरूले भन्ने गरेको बुर्जुवा शिक्षालाई त्यागेर महान जनयुद्धमा होमिउँ–होमिउँ लाग्थ्यो।
गाउँमा रहेको माविको प्रअ मेरो बुबा हुनुहुन्थ्यो जहाँ म पढ्थे। सुदुरपश्चिमको डोटी जिल्लामा माओवादीका कार्यक्रम दिनहुँ भइरहन्थे। विद्यालयमा पनि प्रत्येक हप्ता माओवादीको कार्यक्रम राख्नैपर्ने भन्दै बुवालाई दबाब दिन्थे माओवादी कार्यकर्ताहरू। एकातिर शाही नेपाली सेनाले कार्यक्रम गर्न पूर्ण बन्देज लगाउनुपर्ने दबाब दिन्थे, उता माओवादीको दबाब खेपिनसक्नुको हुन्थ्यो। जसले गर्दा बुवा तनावपूर्ण स्थितिमा हुनुहुन्थ्यो।
परिवार हाम्रो सानोे र सुखी थियो। अनेक सामाजिक कुरीतिका मान्यता बोकेको सुदूरको समाजलाई बुवाले शिक्षक मात्रै नभई समाजसेवीको रुपमा परिर्वतनका लागि चेतनाको ऊर्जा छर्दै हिँड्नुहुन्थ्यो। घरमा मम्मी, दिदी, भाइ र म थियौं। ३ कक्षामा पढ्ने भाइलाई घरमा पढाउने जिम्मा मेरो नै थियो। हामी मम्मीलाई समेत घरमा पढाउँथ्यौं। दिदीले मेलापात र घरको काममा मम्मीलाई सघाउँदै एसएलसी पास गर्नुभयो। यसपछि दिदीको पढाइ त्यहीँ रोकियो। यसबीचमा दिदीको छिमेकी गाउँमा मागि बिहे भयो। भिनाजुले काठमाडांैको त्रिचन्द्र कलेजबाट बिएस्सी गर्नुभएको थियो। उहाँ गाउँमा विज्ञान शिक्षकको रुपमा पढाउनुहुन्थ्यो। त्यतिबेला गाउँ तथा छिमेकी गाविसहरूमा विज्ञान शिक्षक नै थिएनन्।
यता माओवादी जनयुद्ध जर्जर बन्दै थियो। कहाँ कतिबेला के हुने हो भनेर सबै त्रासदी जीवन बाँचिरहेका थिए। कहिले टाकुराका साइँला बा माओवादीबाट त कहिले हामीसँगै पढ्ने किरण सेनाबाट दुश्मन करार भई ज्यान हाल्न विवश थिए। देश दुनियाँका घटनाबारे जानकार हुन सधैं हामी साँझ ७ बजेको समाचार सुन्थ्यौं। प्रायः हामी अलि छिटो नै सुत्थ्यौं। एक दिन करिब साढे ९ बजेतिर ढोका ढकढकको आवाज आयो। बुवा ढोका खोल्न जाँदै हुनुहुन्थ्यो तर मम्मीले जान दिनुभएन। त्यसपछि बुवा पछाडि हट्नुभयो। लगातार बाहिरबाट ढोका खोल्न चेतावनी दिएपछि बुवा ढोका खोल्न बाध्य हुनुभयो। करिब ४/५ जना मानिसले बुवासँग कुरा गर्नुछ भनी जबरजस्ती लगेर गए। त्यस दिनदेखि बुवाको सामीप्यताबाट हामी टाढियौं।
बुवालाई लगिसकेपछि मम्मी निकै रुनुभयो। त्यस दिन शुक्रबार विद्यालयमा माओवादीले कार्यक्रम गरेका रहेछन्। मम्मीले बुवालाई सेनाले लगेको लख काटिसक्नुभएको रहेछ। मैले मम्मीलाई निकै सम्झाएँ तर सकिनँ। मम्मीको त्यो हालत हेर्न नसकि म पनि उहाँसँगै रोएँ। हाम्रो रुवाईले निद्रामा रहेको भाइ ब्युझियो। भाइ मम्मि भन्दै बाहिर आयो। म बल्लबल्ल थामिएँ र भाइलाई यो सबबाट बेखबर बनाउन सामान्य बन्न खोजेँ। तर, भाइ एक्कासि बुबा भन्दै रुन थाल्यो। अब म केही गर्न सक्ने अवस्थामा थिइनँ।
छरिएर रहेको हाम्रो बस्तीमा हाम्रो रुवाईको आवाज अरु गाउँलेसम्म पुगेन वा उनीहरू डरले त्यहाँसम्म आउने जोखिम लिन चाहेनन् मैले बुझ्न सकिनँ। म हतार–हतार भाइ र मम्मीलाई घरमै छाडी दिदीको घरसम्म पुगेँ। साँझ परेपछि बाहिर निस्कन नसक्ने म खै कुन शक्तिले त्यसदिन गाउँको मसानघाट पार गर्दै दिदीको घरसम्म पुगे। दिदी, भिनाजु र म तिनैजना हाम्रो घरसम्म आयौं। भाइ रुँदारुँदै घरको पल्लो कुनामा गएर निदाएको थियो। मम्मी भने पूरै बर्बराएको जस्तो हुनुभएको थियो। दिदी–भाइलाई अगांलो राखेर रुन थाल्नुभयो। त्यो कठिन रात कसरी बित्यो पत्तो भएन। सायद हामी सबै आँशुको आहालमा डुब्यौं। अर्कोदिन गाउँका सबैजना जम्मा भए सबैले अनेक अनुमान लगाउँदै खासखुस गर्न थाले।
यता बुबाको अवस्था एक महिना हँुदा पनि अज्ञात नै थियो। गाउँमा भने सबै युवायुवतीलाई माओवादीले युद्धमा होमिन उर्दी जारी गर्दैथिए। गाउँ थप प्रभावित बन्यो। धेरै जनयुद्धमा लागे, कोही पलायन भए। सेनासँग बदला लिन मलाई माओवादी युद्धमा सामेल बनाउने अनेक प्रयत्न गरे माओवादीले।
मसँग मात्रै अब दुई वटा विकल्प थिए। माओवादी युद्धमा छापामार बन्ने कि त गाउँ छाडेर भारत पलायन हुने। सबैको सल्लाह अनुसार मैले दोस्रो विकल्प छनोट गरेँ र पढाइलाई पनि यही विश्राम दिए। सबैसँग विदा मागी चिठीपत्र पठाउने र शान्ति फर्केपछि घर आउने बाचा गर्दै गाउँबाट लागेँ इन्डियातर्फ।
गाउँबाट ७ घण्टा पैदल हिँड्दै सदरमुकाम सिलगढी आएर त्यस दिन बसँे। शैलेश्वरी होटलमा त्यहाँका साहु अंकलसँग भेट भयो। उहाँ पनि देशको उथलपुथलबाट प्रताडित हुनुभएको रहेछ। साँझ उहाँ र मबीच कुराकानी भयो। उहाँले मलाई आत्मविश्वासको दरिलो टेको भरिदिनुभयो। भोलिपल्ट बिहानै धनगढी जाने बसको टिकट लिएँ। टिकट उहाँले नै काट्ने भएकोले मलाई पैसा लिनुभएन। घरबाट थोरै पैसा लिएर हिँडेको मलाई अंकलको सदासयताले राहत मिल्यो।
बिहानै बसको चर्को हर्नले मलाई ब्युँझायो। ढिलो भएकाले शैलेश्वरी मन्दिरको दर्शन नै नगरी होटल नजिकै रहेको पीपलबोटबाट बसको अघिल्लो सिटमा बसे। बस तल दीपायलतर्फ ओरालो लाग्दै थियो मलाई भने शैलेश्वरी माताको दर्शन गर्न चुकेकोमा के नपुगे÷नपुगेको जस्तो लागिरहेको थियो। डा.केआई सिंह मार्गलाई छिचोल्दै डडेलधुरातर्पm उक्लियौं। त्यहाँबाट भीमदत्त पन्त मार्ग हुँदै यात्रा गन्तव्यतिर लम्कियो।
बसभरि जम्मा दुई जना मात्रै युवा थियौं। जसले गर्दा बाटोमा चेकिङमा खटेका सेनाले निकै नै केरकार गर्दथे। हाम्रा कारणले अरु यात्रुले सास्ती खेपेको देखेर मन अमिलो हुन्थ्यो। यस्तै–यस्तै अनेक उल्झनका बीच चार दिनपछि म नयाँदिल्ली पुग्छु। त्यहाँ एक मनकारी नेपालीसँग भेट हुन्छ जसले मलाई एउटा होटलमा काम लगाइदिन्छन्।
मेरो खबर र घरको हालखबर बुझ्न धेरै चिठी लेख्छु तर त्यसको प्रत्युउत्तर मैले घरबाट पाउनै सक्दिनँ। मनमा अनेक कुराले चिथोर्न थाल्छ। प्रत्येक रात पीडा र मात्रै सम्झनामा दौडिन थाल्छन्। सिरानी मेरो टाउको अट्ठयाउन भन्दा पनि आँशु सोस्नमा बढी प्रयोग हुन्छ। देशमा शान्ति फर्कने र घर फर्किन पाउने आशमा करिब २१ महिना दिल्लीमा बितिसकेका थिए। तर, नेपालको अवस्था भने कति पनि निको हुने दिशातिर थिएन।
यस्तैमा एकदिन सपनामा घर पुग्छु।
घरबाहिर घाँसले आँगन छोपेको छ। रातो माटो र सेतो कमेरोले रंगाइएको मेरो घर पूरै श्यामश्वेतमा परिणत छ । दाइ भनेर अगांलो हाल्ने भाइ खोज्छु, भेट््दिनँ। बाबु भोकाएको छस् खाउँ भनेर कर गर्ने मम्मी देख्दिनँ। साथीजस्ती मेरी प्रिय दिदीको कतै बोली सुन्दिनँ। घरको चारैतिर हेर्छु सबैतिर भावशून्य छ। घरको अगेना छेउको खोपामा एउटा सेतो कागज टल्किरहेको हुन्छ। त्यसलाई खोलेर हेर्छु, दिदीका अक्षर मेरो मष्तिस्कभरि घुम्न थाल्छन्। कालो मसीले लेखिएका अक्षर फुरेर ठाउँ–ठाउँमा थोप्ला बनेका छन् सोच्छु अक्षर दिदीको आँशुले भिजेको हुनुपर्छ।
प्रिय भाइ मीठो सम्झना,
यो पत्र पाउँछौ वा त्यतिकै यो निर्जीव घरसँगै भत्किएर धुजाधुजा भएर जान्छ, थाहा छैन। जब तिमी अनेक माओवादी दबाब सहन नसकि घरबाट हाम्रो सल्लाहअनुसार भारत लाग्यांै। त्यसपछि हाम्रो परिवारमा एकपछि अर्को ब्रजपात आइपर्यो। बुवाको अवस्था वर्ष दिन पुग्दा पनि अज्ञात नै भयो। तिमी पनि चिठी पठाउँछु भनेर भन्थ्यौं तर खै भाइ के ले गर्दा चिठी पठाउन नसक्ने भयांै। यता भने यो सबले गर्दा मम्मीको स्वास्थ्य दिन प्रतिदिन गम्भीर बन्दै थियो। मम्मी सुकेको पातजस्तै बन्न थालिसक्नु भएको थियो।
सायद रातदिनको चित्कार तिमीसम्म सुनाइदिने÷पुर्याइदिने हाम्रो कोही थिएनन्। हुन त भाइ तिम्रो अवस्था आफैंमा अज्ञात छ। यही २०६१ को तीजमा उपल्लो चौतारीमा मेला लागिरहेको थियो। गाउँका सबै मेला भर्न पुगेका थिए। साझँपख शाही सेना र माओवादीबीच घमासान युद्ध भयो।
तिम्रो भिनाजुसँग भाइ पनि मेला भर्न गएको थियो। हो म कसरी लेखुँ यो, हाम्रा सहारालाई यो निर्दयी संसारबाट गोलीले चुँडेर लगेछ। अहिलेसम्म लाश पाएका छैनौं। भाइ, माओवादीले नै सबै मृतकको आफैं अन्तिम संस्कार गरेछन्।
त्यसपछि मैले मम्मीलाई थप यो संसारमा राख्न सकिन र अब म आफै पनि यो जिन्दगीलाई अगाडि बढाउन सक्दिनँ भाइ। ममा आत्मविश्वास रतिभर पनि बाँकी छैन। मलाई समयको हरेक सेकेण्ड वर्षौं लाग्दैछ। पलपलमा पीडा थप्दै किन हाम्रो जिन्दगी उदास बन्देउ भगवान! खुसी र हाँसोलाई हामीबाट खोसेर लैजाने यमराजको लोकमै अब हाम्रो भेट हुनेछ। प्रिय भाइ अलबिदा!
म एकाएक तर्सन्छु। चिच्याउन खोज्छु,बोली निस्कँदैन। जस्तो स्थिति भए पनि घर पुग्ने दृढ निश्चय गर्दछु। बिहानै नेपालको गाडी चढी यात्रा थाल्छु। गाउँ, वनजंगल, पाखा–पखेरा सबै उस्तै छन्। जगंलमा चराको चिरबिर छैन। गुराँस फुलेर वनलाई चारैतिर ढाकेको छ। तर, अहँ तिनले सुगन्ध र उज्यालो छर्न सकेका छैनन्। पश्चिम सेती आफ्नै लयमा सुनसान बगिरहेकी छिन्। उनमा मौनता छ। बेसीमा नदीका छेउछाउका खेतमा मार्सी धान झुल्नै आँटेको छन्। लाग्छ, उनीहरू नेपालको अशान्तिबाट आजित भएर शिर निहुराएका छन्। घर पुग्छु, सपनीमा देखेको सबै हुबहु मिल्छ। संसारै नरहेपछि घरले मलाई उठ्नै नसक्ने गरी च्याप्छ।