ललितपुरको पाटनस्थित मानसिक विभागमा अहिले एक जना ओपिडीमा उपचारार्थ छन्। केही दिनअघि ब्लेडले रेटेर आत्महत्याको प्रयास गरेपछि उनका आफन्तले अस्पतालमा ल्याएका हुन्।
आत्महत्या गर्न लागेको उनको यो पहिलो पटक भने होइन, यसअघि कोठामा झुण्डिएर, आफ्नै टाउकोमा ढुंगाले हानेर उनले आत्महत्याको प्रयास गरेका थिए। त्यतिबेला पनि उनका आफन्तले देखेर उनलाई अस्पताल ल्याएका थिए।
ललितपुरकै एक गाम्रिण भेगकी महिला पनि श्रीमानले यातना दिनथालेपछि आत्महत्या गर्ने निर्णयमा पुगिन्। बारम्बार श्रीमानको किचकिच सहन नसकेपछि उनले विष सेवन गरिन् । उनलाई पनि आफन्तले पाटन अस्पताल ल्याएर भर्ना गरे। अस्पतालबाट डिस्चार्ज भएकी उन फलो अपका लागि अस्पताल आउँछिन् ।
त्यस बखत डाक्टरहरुले उनलाई आत्महत्या भनेको के हो, यसबाट बच्न के गर्ने, के नगर्नेजस्ता विषयमा परामर्श दिन्छन् । आत्महत्या प्रयासपछि बाँचेका दुवै जना भन्छन् 'आत्महत्या गर्न खोज्दा परिवारलाई दुख भयो, समाजमा लज्जित भयौं, अबदेखि त्यस्तो गर्दैनौँ। बोनस जीवन खुसीका साथ बाँच्ने हो।'
पाटन अस्पताल मानसिक विभागका डाक्टरहरुले नियमित रुपमा दिने गरेको परामर्शले आफूहरुलाई नै बाँकी जीवन जिउने आधार दिएको उनीहरुले बताएका छन्।
ललितपुरका सन्दीप शाहीले पनि आत्महत्याको प्रयास गरे । सुत्ने कोठामा सिलिङमा कलेजको टाईले झुण्डिएर आत्महत्या गर्न खोजेपनि उनी असफल भए। २०६६ साल असार १५ गते उनकी आमा मानसिक रोगबाट ग्रसित भएपछि झुण्डिएर आत्महत्या गरेकी थिईन। त्यसको ३ वर्षपछि आर्थिक समस्याबाट पिरोलिएका उनका बाबुले पनि इनारमा डुबेर आत्महत्या गरे ।
आमाबाबु दुवै यस संसारमा रहेपछि उनलाई पनि आत्महत्या गरुँ जस्तो लाग्यो। प्रयास गरेपछि असफल भए। पछि मानसिक रोग परामर्शविदहरुसँग उनले परामर्श लिए । अहिले सन्दीप समाजको उदाहरण बनेका छन् । उनी अहिले मानसिक रोग विज्ञ भएका छन्। समाजमा उनले आत्महत्या सम्बन्धि जनचेतना फैलाइरहेका छन् भने मानिसहरुलाई परामर्श पनि दिइरहेका छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मानसिक विभाग प्रमख डाक्टर रवि शाक्य भन्छन् 'आत्महत्या कुनै अपराध होइन, यो मानसिक रोग हो, उपचार सम्भव छ।' आत्महत्या गर्ने ९० प्रतिशत मानिसहरु मानसिक रोगी हुने गरेको विभिन्न अनुसन्धानले देखाएको उनले बताए।
पाटन अस्पतालमा पनि एकै दिन ३ जना मानसिक रोगीहरु आउने गरेको उनले बताए। 'आत्महत्या प्रयास गर्छन् आफन्तले देखेपछि अस्पताल लेराउँछन्' उनले भने।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ३ सेकन्डमा मानिसहरुले आत्महत्याको प्रयास गर्ने र ४० सेकेन्डमा एकको मृत्यु हुने गरेको छ। यसरी आत्महत्या गर्नेहरु ८० प्रतिशत डिप्रेसनको सिकार हुने गरेका छन्। बाँकी सिजोफ्रेनिया, डिमोन्सिया रक्सी र लागू औषध सेवन लगायतका कारणले आत्महत्या गर्न पुग्छन्।
बंशानुगत कारणले पनि मानिसहरुले आत्महत्या गर्ने गरेको उनले सुनाए। नेपालमा पनि मृत्यु भएका सय जनामा १६ जनाको आत्महत्याबाट ज्यान जाने गरेको उनले बताए।आत्महत्या गर्ने व्यक्तिले कम्तिमा ८ दिनअघिबाट नै केही लक्षणहरु देखाउने गरेको डाक्टर शाक्यले बताए। आत्महत्या गर्नेमा किशोर अवस्था र ४५ वर्षका मानिसहरु बढी छन्।
आत्महत्या प्रयास गर्ने मानिसहरुलाई समाजले हेयको दृष्टिले हेर्ने गरेको उनले बताए। उनीहरुलाई समाजले लज्जित बनाउने काम गर्न नहुने डाक्टर शाक्यको सुझाव छ। उनीहरुलाई परामर्शको साथै, नियमित औषधि सेवन र निगरानी गर्नुपर्ने उनले बताए।
नेपालमा भने किटनाशक औषधि खाएर धेरैले आत्महत्याको प्रयास गर्छन्। एआइजी प्रतापसिंह थापाले नेपालमा किटनाशक औषधि खाएर आत्महत्या गर्ने सबैभन्दा बढी रहेको बताए। मानसिक रोगको उपचारका लागि धेरै पैसा पनि खर्च नहुने र परामर्श चाहिने हुदाँ त्यसमा कन्जुस्याँई गर्न नहुने उनले बताए।
ललितपुर प्रहरीका एसएसपी पीताम्बर अधिकारीले ललितपुरमा एक महिनामा ३ जनाले आत्महत्या गर्ने गरेको बताए। सबैभन्दा बढी बुधबारका दिन र वैशाख महिनामा आत्महत्या गर्ने बढी रहेको उनले बताए।
नेपाल आत्महत्या बढी गर्ने देशको सूचीमा छ । बढी आत्महत्या गर्ने देशहरुको सूचीमा नेपाल सातौं स्थानमा छन्।