शौचालय अभावको कारण देखाउँदै विद्यालयबाट ड्रप आउट हुने छात्राका लागि झापाका एक पत्रकारका परिवारले सामुदायिक विद्यालयमा शौचालय बनाइदिएका छन्। दक्षिणी झापाको टाघनडुब्बा–८ मा रहेको नमूना प्राथमिक विद्यालयमा १ लाख १ हजार ७ सय ५० रुपैयाँको लागतमा शौचालय निर्माण गरी पत्रकार हिमाल खरेलका परिवारले बिहीबार विद्यालयलाई हस्तान्तरण गरे।
एक कार्यक्रमबीच खरेलका बुवा बालुरामले प्रधानाध्यापक कमला विकलाई शौचालयको चाबी दिएका छन्। शौचालयको अभावका कारण विद्यार्थी ड्रप आउट हुनेक्रम बढेपछि पत्रकार खरेलले निजी खर्चमा छात्रछात्राको अलगअलग कोठा भएको शौचालय बनाइदिएका हुन्।
स्थानीयका अनुसार २०५४ सालमा स्थापना भएको सो विद्यालयको पढाइ विद्यालय भवनको अभावमा स्थानीय शिक्षासेवी बालुराम खरेलको चौपाया गोठबाट सुरू भएको थियो। खरेलकै अगुवाईमा विद्यालयको स्थापना भएको स्थानीयले बताए। सो विद्यालयमा अधिकांश सन्थाल तथा दलित समुदायका बालबालिका अध्ययनरत छन्।
विद्यालयको तथ्यांक अनुसार ८४ जना विद्यार्थी सीमान्तकृत सन्थाल समुदायका छन्। विकका अनुसार ४९ जना आदिवासी जनजाति र ६६ जना अन्य समुदायका गरि सो विद्यालयमा १ सय ९९ जना विद्यार्थी अध्ययनरत छन्।