स्वयम्भु क्षेत्रमा सोमबहादुर सुनुवारको परिचय घर ढलान गर्ने मजदुरका रूपमा छ। उनले यो काम गरेको १४ वर्ष भयो। पिताको निधनपछि काठमाडौंमा बाँच्नका लागि उनले के काम मात्र गरेनन्- होटलको जुठो भाडा पुछे, भाडा माझे। बिहान ३ बजेदेखि राति ११ बजेसम्म लगातार जुठा भाँडामा दलिनुपर्दा आजित बनेपछि उनी ढलान मजदुरका रूपमा काम गर्न थाले।
तर उनी स्वर्णपदक विजेता खेलाडी हुन्। यो खबर आजको कान्तिपुरमा लीला श्रेष्ठले लेखेका छन्।
मैनपुर-६ उदयपुरका ३२ वर्षीय उनले गत अगस्ट ५ देखि ७ सम्म भारतको गुजरातमा भएको ‘प्रथम अन्तर्राष्ट्रिय पारा तेक्वान्दो च्याम्पियनसिप इन्डिया २०१६’मा नेपाललाई स्वर्ण पदक दिलाए। æभारतीय पारा तेक्वान्दो संघको आयोजनामा भएको प्रतियोगिताको ‘क ४२’ क्याटेगोरी अन्तर्गत पुरूष ५५ केजीमा उनले स्वर्ण जितेका हुन्। पारा तेक्वान्दोमा लागेको करिब २ वर्षमा उनले यो सफलता हात पारे। शारीरिक रूपमा अशक्त हुँदा हुँदै पनि ढलान गर्ने काममा मजदुरी गर्दै आएका सोमबहादुर पार तेक्वान्दोका शशक्त खेलाडी हुन्। सानै उमेरमा गोठमा आगो लाग्दा उनको शरीरमा आगो सल्केर बाँयाँ हात गुमाएका थिए।