प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृति विसङ्गतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्ने अभिप्रायले नेपाल प्रहरीले थालेको ‘प्रहरी मेरो साथी’ अभियानले कञ्चनपुरमा तीव्रता पाएको छ ।
मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको प्रहरीले केही समयअघिसम्म ‘मुस्कानसहितको प्रहरी’ ‘जिब्रोको गरिमा, मीठो बोलीमा’ जस्ता अभियान समाजमा सञ्चालन गरिसकेको प्रहरीले आव २०७२÷७३ को नीति तथा कार्यक्रममा नै प्रहरी मेरो साथी अभियान समावेश गरी देशभर सञ्चालनमा ल्याएको थियो ।
हाल देशका ७५ वटै जिल्लामा सञ्चालनमा रहेको उक्त अभियानले कञ्चनपुरका ग्रामीण बस्तीमा पनि प्रभाव देखाइरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले यहाँका विभिन्न सामाजिक सङ्घ, सङ्गठनलगायतका सरोकारवाला निकायसँग समन्वय गरी अभियानलाई जिल्लाको सबै क्षेत्र र बस्तीमा पुर्याउन दिनहुँ सक्रिय हुँदै गइरहेको छ ।
देशभरका विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न अभियान जिल्लाका सबै क्षेत्रमा थालिएको जिप्रका, कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले बताए।
शनिबार इलाका प्रहरी कार्यालय झलारीले यहाँको देखतभूली गाविस–४ कालागौडीमा समेत उक्त अभियान सञ्चालन गरेको थियो । अभियान घरदैलोमा लैजाँदै गर्दा सर्वसाधारणले आफ्ना समस्याहरु प्रहरी सामु राख्ने गरेको प्रहरी निरीक्षक सुदाम रावलले बताए। रासस