अमेरिका लैजाने प्रलोभन देखाएर नेपालका बालकहरूमाथि यौन शोषण गर्ने अमेरिकन नागरिक पक्राउ परेका छन्।
ठमेलस्थित होटल यम्बुबाट ४८ वर्यीय केन्निथ जोसेफ कम्बस् पक्राउ परेका हुन्।
केन्द्रीय अनुसन्धान ब्युरोले बाल यौन दुराचारका निम्ति अमेरिकी नागरिकलाई सहयोग गर्ने काठमाडौं स्वयम्भूका २१ वर्षीय लुच्चे भन्ने बुद्ध पुतवारलाई पनि पक्राउ गरेको छ।
गत अगस्टमा नेपाल आएका कम्बसलाई ठमेलबाट शुक्रबार पक्राउ गरिएको हो । बाल यौन दुराचार भइरहेको सूचनाका अाधारमा उक्त होटलमा आउने विदेशी नागरिकलाई प्रहरीले केही समययता होटलमाथि निगरानी बढाएको थियो ।
छापा मार्दा प्रहरीले करिव १२ देखि १६ वर्षका बालकसहित कम्बस् र पुतवारलाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी दिवेश लोहनीले बताए।
शुक्रबार पक्राउ परेका अमेरिकी नागरीकले पटक पटक नेपाल आई हाल २३ अगष्ट २०१६ (२०७३/०५/०७) देखि निरन्तर होटलमा बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
उनले आफ्ना सहयोगीमार्फत विभिन्न स्थानहरूबाट दर्जनौं नेपाली बालबालिकाहरूलाई आफू बसेको होटलसम्म ओसारपसार गर्न लगाएर यौन दुराचार तथा शोषण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसार पसार र बाल यौन दुराचार मुद्धा अन्तर्गत म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ।