पर्यटक भिसामा नेपाल आउने कतिपय विदेशी पुरुष नागरिकले आफू बस्ने होटलमा बालक लैजान्छन् भन्ने गुनासो आएपछि केन्द्रीय अनुसन्धान ब्युरोले ठमेल क्षेत्रमा निगरानी बढायो।
ब्युरोका प्रहरी एक महिनादेखि ठमेल क्षेत्रका होटल आसपास सूक्ष्म तरिकाले परिचालित भइरहेका थिए। खोजीको सिलसिलामा केहीअघि ठमेलको एक होटेलमा तीन जना बालक प्रहरीले फेला पारेको थियो। सोधपुछका क्रममा अमेरिकी नागरिकले नियमित बोलाउने गरेको र यौन दुराचार गर्ने गरेको खुल्यो।
ठमेलको होटल यम्बुमा अन्य बालकहरू पनि आफूहरूजस्तै जाने गरेको उनीहरूले प्रहरीलाई बताए। ब्युरोको टोली यही सूचनाका आधारमा होटल यम्बुमा शुक्रबार दिउँसो छापा मार्यो।
ब्युरोका प्रवक्ता एसपी दिवेश लोहनीका अनुसार छापा मार्दा ४८ वर्षीय अमेरिकी नागरिक केन्निथ जोसेफ कम्बस् अन्य पाँच जना बालकसाथ फेला परे। साथमा केन्निथसम्म बालक पुर्याउने काठमाडौं बौद्धका २१ वर्षीय बुद्ध पुतवारलाई पनि प्रहरीले पक्राउ गरेको थियो।
तीन महिने नेपाल भ्रमणको भिसा लिएर अगस्ट १० मा नेपाल आएका केन्निथ आफूलाई एप्स डिजाइनर बताउने गर्थे। उनी यसपटक मात्र नेपाल आएका भने होइनन्। लोहनीका अनुसार केन्निथ पटक-पटक नेपाल आउँदै फर्किँदै गरिरहेका थिए र नेपाल बसुञ्जेल उनी घुमफिर मात्र गर्दैनथे, बालकहरू झिकाएर दुराचार गर्थे।
काठमाडौं आसपासका १२ देखि १६ वर्ष उमेर समूहका बालकहरूलाई पुतवारले केन्निथ बस्ने होटल पुर्याउँथे। ती बालक केही समय होटलमा बस्थे र बाहिरिन्थे।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यो खुलेको छ कि केन्निथजस्तै निकै विदेशी नागरिक नेपालमा बाल यौनशोषणमा संलग्न छन्। यसैमा संलग्न एक जना सिंगापुरका नागरिक प्रहरीले खोज्दाखोज्दै आफ्नो देश फर्किएका थिए।
बालकको प्रारम्भिक वयानका आधारमा केन्निथ र पुतवारलाई ६ दिन थुन्न आइतबार जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। ब्युरोले उनीहरूविरूद्ध मानव बेचबिखन, ओसारपसार तथा बाल यौन दुराचार मुद्धा चलाएको छ।
‘केन्निथले बालकहरूसँग बसेर नग्न फोटो र भिडियो पनि खिचेको खुल्न आएको छ,’ एसपी लोहनीले भने, ‘बरामद भएको ल्यापटप, क्यामरा र मोबाइलबाट त्यसको प्रमाण जुटाउने काम गरिरहेका छौं।’
मध्यम तथा निम्नवर्गीय त्यस्ता बालकलाई पुतवारले अमेरिका लैजाने बहानामा फकाएर ल्याउने गर्थे।
‘अमेरिका लैजाने लोभमा बालकहरू आउँदा रहेछन्, थप पैसा पनि दिएपछि उनीहरू फकिँदा रहेछन्,’ लोहनीले भने, ‘खास गरेर बिपन्न बालकहरूलाई फसाएको हामीले पायौं।’
प्रहरीको आशंका अनुसार पतुवारसँग केन्निथको पहिले नै भेट भएको हुनुपर्छ। किनभने उनी नेपाल आउनेवित्तिकै पतुवारसँग भेट हुने गरेको र पतुवारले बालक पुर्याउने गरेको हालको अनुसन्धानबाट खुलेको छ। ‘कहिलेदेखि उनीहरूको सम्बन्ध जोडिएको हो हामी अनुसन्धान गरिरहेका छौं,’ लोहनीले भने, ‘पतुवारले ५० जनाभन्दा बढी बालक केन्निथकहाँ पुर्याइसकेको बताएका छन्।’
अमेरिकी नागरिकलाई बालक उपलब्ध गराउनु पतुवारको पेशाजस्तै हो। उनी एक जना बालक पुर्याएबापत एकदेखि दुई हजार रुपैयाँसम्म पाउँथे।
बिपन्न र परिवारको खासै निगरानी नभएका बालक यसरी यौनशोषणमा पर्ने गरेको पाइएको प्रहरीले बताएको छ।
एसपी लोहनीका अनुसार सुरूमा फेला परेका ती तीन जना बालकले घटना लुकाउन खोजेका थिए। अभिभावकसम्म कुरा पुग्छ भनेर उनीहरुलाई डर रहेछ। प्रहरीले अभिभावकसम्म यो कुरा नपुग्ने सर्तमा बालकहरूबाट कुरा फुत्काएको थियो। ‘हामीले निकै चनाखो भएर यो घटनाको अनुसन्धान थालेका छौं, ती बालकका आफन्तलाई यो घटना थाहा पनि छैन,’ लोहनीले भने।
ब्युरोका अनुसार यसरी बालकहरूलाई शोषण गर्ने विदेशीहरूको समूह नै सक्रिय छ। उनीहरूले आफ्नो सम्पर्कमा आएका बालकलाई अर्को साथीसँग पनि सम्पर्क गराइदिने गरेको ब्युरोको भनाइ छ।
भिडियो र तस्बिर खिच्ने गरेकाले त्यस्ता व्यक्तिले क्षणिक मनोरञ्जन साथै डकुमेन्ट्री र अश्लील चलचित्र पनि बनाउँछन् भन्ने शंका प्रहरीको छ। यो घटनापछि ब्युरोले ठमेल क्षेत्रका शंकास्पद केही होटलमा निगरानी बढाएको लोहनीले बताए।