करिब छ दशकअघि हामीले झर्रोवादी आन्दोलन सुरु गरेका थियौं। त्यतिबेला नेपाली भाषाको लेख्य र कथ्यबीचको अन्तर कम गर्ने अभियान नै चलाएको थियौं। वर्णविन्यासमा एकरुपता र सहजता सिर्जना गर्न थुप्रै नियम प्रस्ताव गरेका थियौं।
तर, त्यतिबेला म बालकृष्ण पोख्रेललाई के थाहा थियो भने, 'दश कोषमे पानी बदले पाँच कोषमे बानी'।
नेपाली कथ्यकै स्वरुप स्थान विशेष फरक-फरक छ। कथ्यको मान हुनुपर्छ, कथ्यको सम्मान हुनुपर्छ। कथ्यको छुट्टै डिक्सनरी निस्किनु पर्छ। कथ्यमा पिएचडि गरिनुपर्छ। कथ्यलाई दुहेर इतिहासका लुकेका कुरा दुहिनु पर्छ। तर, एक कथ्य र अर्को कथ्यबीच झगडा गराउने बाटोमा जान मिल्दैन। कुनै कथ्य शब्द वा शैलीलाई नै मानक बनाउन मिल्दैन।
त्यो बेला हाम्रो झर्रोवाद निकै नै उग्र थियो।
हामीले त्यसबेला नौलो पाइलो चलाएको हो। हामी भाषा जोगाउन युद्धमा होमिएका थियौं। युद्धकालमा जहिले पनि उग्र नीति हुन्छ। तर, युद्धपछि धेरै उग्र नीतिहरू छोड्नु पर्ने हुन्छ। झर्रोवादको एक ढंगको विजय भएपछि हामीले आन्दोलनताका उठाएका कतिपय कुराहरू छोड्यौं, सुधार गर्यौं। झर्रोवादी आन्दोलनकै कारण नेपाली भाषाले अहिलेको स्वरुप प्राप्त गरेको हो।
झर्रोवादी आन्दोलन नभएको भए अहिले घरघरमा जस्तो नेपाली बोलिन्छ, यो भाषा यस्तो रुपमा रहने थिएन। अहिलेको कुमाउँनी वा गढवाली भाषाकै अवस्थामा पुग्ने थियो। किनभने, त्यो बेला नेपाली भाषा 'क्युँकीवल्की' र 'अगरमगर'को आँधीमा उडिसकेको थियो। हिन्दी मात्रै होइन,अंग्रेजी र ऊर्दु भाषाको प्रभावबाट पनि नेपाली भाषालाई जोगाएको थियो।
अंग्रेजी शब्द लिनु अंग्रेजीको प्रभावमा पर्ने होइन तर अंग्रेजीको नियम लिनु प्रभावमा पर्नु हो। नेपाली भाषाले हिन्दी शब्द लिन सक्छ तर हिन्दी नियम लिनु चाहिँ प्रभावमा पर्नु हो।
नेपाली भाषा आफ्नो खुट्टाले टेकेर उभिन आफ्नो मुटु, कलेजो, टाउको फेला पार्नु पर्थ्यो। मैले 'पाँच सय' वर्ष नामक किताब लेखेँ। यसले नेपाली भाषाको लामो प्रमाणित इतिहास रहेको प्रमाणित गर्यो। यसपछि पनि नेपाली भाषाको इतिहासमा प्रशस्त काम भइसकेको छ। नेपाली भाषा कम्तिमा पनि साढे तेह्र सय वर्ष पुरानो इतिहास रहेको प्रमाणित भएको छ।
व्याकरणको परिवर्तन पुस्तैपिच्छे गर्ने कुरा होइन। सयौं वर्षमा केही कुरा फेरिन्छ भने त्यसलाई स्वभाविक रुपमा फेरिन दिनुपर्छ।
नफेरिने भए मनुष्य मान्छे हुने थिएन, कनिष्ठ कान्छो हुने थिएन, मत्स्य माछो हुने थिएन। भाषा त सुटुक्क फेरिने कुरा हो।
तर, जानीजानी, सिपालु भएर, म भाषा परिवर्तन गर्छु, सजिलो बनाउँछु भनेर हुँदैन। अहिले जसरी नयाँ वर्णविन्यास थोपर्ने प्रयास भइरहेको छ, यो देख्दा मलाई हाँस्न मन लाग्छ।
व्याकरण र वर्णविन्यास छोटो-छोटो समयमा गरिरहने हो भने यसले भाषालाई अस्थिर र अस्पष्ट बनाउँछ। यो परिवर्तन हुन पहिले जनजीवनमा परिवर्तनलाई राम्रोसँग भिजिसक्न दिनुपर्छ।
साढे १३ सय वर्षभन्दा पुरानो पुरानो नेपाली भाषा आहिले आफ्नो जीवनको वयस्क अवस्थामा छ। जे आउँछ,त्यसलाई नेपाली बनाइदिन्छ। आफ्नो पन दिन्छ। यो भाषा बलियो र सशक्त भएकाले नै हो।
जस्तो भानुभक्तको पालाको 'एकदिन नारदमुनि सत्यलोक पुगिगया लोकको गरुँ हित भनी'मा भएको 'पुगी गया'अब नेपाली भाषामा छैन। तर, यो परिवर्तन कहिँ कसैले तोक लाएर गरिदिको परिवर्तन होइन। यो त जनजीवनमा प्रयोग फेरिएपछि बल्ल यसरी लिपिबद्ध गरिएको हो। मानक पनि यसरी नै निर्माण हुन दिनुपर्छ। यसैलाई मानक बनाउँछु भनेर थोपर्नु हुँदैन।
अहिले नेपाली भाषामा यस्तो कुनै पनि परिवर्तनको टड्कारो आवश्यकता देखिँदैन। नेपाली भाषा परिपक्व र वैज्ञानिक छ। यसमा नियम र परिवर्तन थोपरिनु हुँदैन।
(भाषाविद् पोखरेलसँग रोहित खतिवडाले गरेको कुराकानीमा आधारित)