इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा रामेलु लुकाकुको ह्याट्रिकको मद्धतले सन्डरल्याण्डलाई हराउँदै एभर्टन तेस्रो स्थानमा उक्लिएको छ।
सन्डरल्याण्डलाई ३–० ले हराउने क्रममा रामेलु लुकाकुले ह्याट्रिक गरे। प्रिमियर लिगको यो सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका उनले ११ मिनेटको बिचमा तीन गोल गरेका हुन्। उनले खेलको ६०औं, ६८औं र ७१ औं मिनेटमा गोल गरेका हुन्।
चेल्सीका पूर्व स्ट्राइकर लुकाकुले गएको मार्च १२ मा भएको एफए कपको क्वाटरफाइनलमा गोल गरेपछि त्यसयता गोल गर्न सकेका थिएनन् । तर सन्डरल्याण्डसँगको खेलमा ह्याट्रिक गरेर उनले गोलको खडेरी टारे।
एभर्टनले लिगमा अपराजित यात्रा कायम राखेको छ। गएरातिको खेलसँगै चार खेलबाट १० अंक जोडेको एभर्टन म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ।
चार खेलमा तीनमा पराजित भएको र एकमा बराबरी गरेको सन्डरल्याण्ड एक अंकसहित १९ औं स्थानमा छ।