प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा माथिल्लो कर्णाली र अरुण तेस्रोको पीडीए खारेजीको विषय उठाइनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।
राष्ट्रिय सरोकार अभियान नेपाल, माथिल्लो कर्णाली बचाउ अभियान र सरोकारवाला विज्ञ समूहले ९ सय मेगावाट क्षमताका माथिल्लो कर्णाली र अरुण तेस्रो दुवै आयोजना स्वदेशी लगानीमा नै बनाउनुपर्ने भन्दै पीडीए खारेजीको विषय उठाउनका लागि दवाब दिन मंगलबार काठमाडौंमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सीमाविद् डा. बुद्धिनारायण श्रेष्ठ, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्री लगायत सहभागी थिए । माइतीघर मण्डलाबाट जुलुससहित नयाँ वानेश्वर पुगेका प्रदर्शनकारीहरुले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा असमान सन्धी सम्झौता खारेजी, कालापानीबाट भारतीय सेना फिर्ता, कोशी बाढी नियन्त्रणका लागि खोलिएको भारतीय सम्पर्क कार्यालय बन्द लगायतका विषयलाई प्राथमिकतासाथ उठाउन माग गरे ।
माथिल्लो कर्णाली र अरुण तेस्रो बनाउनका लागि दुई वर्ष पहिले पीडीएमा हस्ताक्षर गरेका भारतीय कम्पनीले अहिलेसम्म लगानीको व्यवस्थापन गर्न सकेका छैनन् ।