भारतमा राज्य-राज्यबीच नदीको पानी बाँडफाँडको विषयमा भएको दङ्गामा दुई जनाको ज्यान गएको छ। कर्नाटकामा दङ्गा रोक्न भारी संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
गत सेप्टेम्बर ५ मा अदालतले कर्नाटका राज्यलाई १५ हजार क्युबिक फिट प्रति सेकेन्ड पानी तामिलनाडुका सुख्खा भूमि सिँचाईका निम्ति उपलब्ध गराउनु भन्ने आदेश दिएपछि त्यहाँ तनाव सृजना भएको थियो।
भारतमा पानीको समस्या र विवाद धेरै छन्। बढ्दो जनसंख्या र जमिनबाट घट्दो पानीको सतहका कारण भारतलाई झनै पानिको आवश्यकता परेको छ।
तामिलनाडु र कर्नाटकाबीच भएको पानी विवादको जरो १९ औं सताब्दीसम्म पुग्छ। त्यतीबेला भारतमा ब्रिटिश शासन थियो। भारतको दक्षिणी राज्यहरुमा खडेरी परेपछि सन् १८७० मा काभेरीको पानीलाई लिएर पहिलो पल्ट विवाद चुलिएको थियो। यतिबेला हाल कर्नाटका रहेको तत्कालिन मैसुर राज्यको शासन व्यवस्था मैसुरका राजाले हेर्थे भने तमिलनाडुको हिस्सा रहेको मद्रासमा व्रिटिसहरूको शासन चल्थ्यो।
विवाद समाधानका लागि ब्रिटिस सरकारले आफ्नो रोहवरमा सन् १८९२ मा एउटा सम्झौता गराएको थियो। तर, त्यो सम्झौता मद्रासको हितमा रहेको भन्दै त्यतिबेलादेखि नै मैसुरका राजाहरूले विरोध जनाउँदै आइरहेका थिए।
सन् १९४७ मा भारत स्वतन्त्र भएपछि पनि दुवै राज्यले पानीको उपयोगलाई लिएर विवाद उठाउँदै आइरहेका थिए। सन् १९८७ मा कर्नाटकामा यसको विरोधमा थुप्रै प्रदर्शन भएपछि १९९० मा आएर पहिलो पल्ट केन्द्र सरकारले उक्त विषय सामधानक निम्ति आयोग गठन गरेको थियो।
त्यस आयोगले सन् २००७ मा एउटा रिपोर्ट बुझाउँदै कर्नाटका, तमिलनाडु, पोन्डीचरी र केरलाले पाउने पानीको अधिकारलाई सुनिश्चित गरेको थियो। तर, त्यो रिपोर्टअनुसार अहिलेसम्म काम अगाडि बढेको छैन्।
भारतमा पानीको विवादबाट दुई राज्यको सम्बन्ध बिग्रिएको घटना नौलो होइन्। भारतमा तमिलनाडु र कर्नाटकाबाहेक पनि अन्य ८ राज्यको सम्बन्ध एकआपसमा राम्रो छैन्।
१. पञ्जाव र हरियाणा
सतलज नदीको पानीको उपभोगलाई लिएर पञ्जाब र हरियाणा राज्यबीच ८० को दशकदेखि नै विवाद छ। हरियाणामा खेतीयोग्य पानीको अभाव पुरा गर्न सतलजलाई जोड्ने लिंक नहर बनाउन पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीकै पालामा काम सुरु भएको थियो। तर, विवादका कारण ९० प्रतिशत काम पुरा भइसकेपछि यो परियोजना अहिले लथालिङ अवस्थामा छ।
पञ्जावबाट बग्ने सतलज नदीलाई यमुना नदीमा जोडेर हरियाणाको पानी अभावलाई कम गर्न इन्दिरा गान्धीले सतलज लिंक नहर परियोजनाको उद्घाटन गरेकी थिइन्। यस सम्बन्धमा गत मार्चमा पञ्जाव विधानसभाले एउटा प्रस्ताव पास गरि नहर निमार्णमा रोक लगाएको थियो।
यो मुद्दाका कारण पञ्जाव र हरियाणाका किसानहरू एक–अर्कालाई मार्ने र मर्ने अवस्थामा छन्। मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। तर, पञ्जावले अदालतको कुनै पनि आदेशलाई नमान्ने बताइसकेको छ।
२.उडीसा र छत्तीसगढ
उडीसा र छत्तीसगढ राज्य पनि महानदीको विवादलाई लिएर वर्षोदेखि झगडामा छन्। छत्तीसगढ सरकारले महानदीमा ७ भन्दा बढी ठूलो परियोजनाको लागि प्रस्तावअघि सारेको छ। छत्तीसगढ विजुली उत्पादनदेखि सिचाइँका लागि चाँडै नै यो परियोजनाको काम सुरु गर्न चाहन्छ। तर, उडीसा सरकारको विरोधका कारण कुनै परियोजना सुरु हुन सकेको छैन्। छत्तीसगढ महानदीमा बनेको ७ वटा ब्यारेजबाट विजुली उत्पादनका लागि पानी चाहन्छ। तर, उडीसामा एनटीपीसीसहित केही ठूला ‘पावर प्रोजेक्ट’ महानदीको सहयोगले सञ्चालन भएका छन्। त्यसैले उडीसाको माग छ, उसलाई आफ्नो प्रोजेक्ट सुचारु राख्न पर्याप्त पानी दिनुपर्छ।
३. गुजराज–मध्यप्रदेश
सत्तासिन भारतीय जनता पार्टी (भाजपा) को सरकारले गुजराज र मध्यप्रदेशमा शासन गरेको १५ वर्ष वितिसकेको छ। तर, पनि नर्मदा नदीको विवादलाई लिएर कुनै ठोस उपलब्धी हात लागेको छैन्। मध्यप्रदेशको अमरकन्टकबाट बग्ने १३ सय किलोमिटर लामो नर्मदा नदीको पानीको विषयलाई लिएर दुवै राज्यबीच लामो समयदेखि विवाद छ। नर्मदा नदीको विवाद यति गहिरो छ कि मध्यप्रदेश र गुजराजमात्र होइन, राजस्थान पनि पछिल्लो समय विवादमा हाम्फालिसकेको छ।
मुख्य विवाद नर्मदा नदीमा बन्ने १ हजारभन्दा बढी सानो–ठूलो बाधका कारण ठूलो संख्यामा मानव बस्तीहरू विस्तापित हुने अवस्था छ।
४. यमुना विवाद
भारतमा पानीलाई लिएर हुने विवादमा सबैभन्दा पेचिलो हो, यमुना नदीको विवाद। यमुना नदीको पानी भारतको पाँचवटा राज्य भएर बग्छ। त्यसैले पानीको भागबन्डालाई लिएर उत्तर प्रदेश (युपी), हरियाणा र राजधानी नयाँ दिल्लीबीच ठूलो झगडा छ। यसलाई लिएर सन् १९५४ मा एउटा सम्झौता पनि भएको थियो, जसमा हरियाणालाई ७७ प्रतिशत र युपीलाई २३ प्रशसत पानी दिने सहमति बनेको थियो। पछि यो सम्झौताको विरोध दिल्ली र राजस्थान सरकारले गर्यो। पछि दिल्ली र हरियाणाले यमुना नदीमै मुनक नहर बनाउने सम्झौतामा हस्ताक्षर गरे।
पछि यो सम्झौता पनि दिल्ली र हरियाणाका लागि झगडाको बिऊ बनेको छ। अहिले दिल्ली सरकारले हरियाणामाथि मनोमानी ढंगले मुनक नहरमा पानी छोड्ने गरेको आरोप लगाउँदै आइरहेको छ।
एजेन्सीको सहयोगमा