नेपाल वायुसेवा निगमले एक वर्षभित्र दुई वटा नयाँ जहाज (एयरबस) किन्ने प्रक्रिया अघि बढेको छ। दुई वटा एयरबस खरिदका लागि आवश्यक २५ अर्ब ऋणको जमानी बस्न अर्थमन्त्रालय तयार भएपछि उसले जहाज खरिद गर्ने निश्चित भएको हो।
अर्थ मन्त्रालयले बुधबार औपचारिक रूपमा जहाज खरिद प्रक्रिया अगाडि बढाउन पर्यटन मन्त्रालयमार्फत पत्राचार गरेको छ। ‘यसअघि अर्थमन्त्री, पर्यटनमन्त्री, सचिवहरू र एनएका महाप्रबन्धहरूबीच भएको सम्झौताअनुसार हामीले पर्यटन मन्त्रालयमार्फत एयरबस खरिद अगाडि बढाउन पत्राचार गरेका हौं,’ अर्थमन्त्रालयका एक अधिकारीले बुधबार सेतोपाटीसँग भने।
अर्थको औपचारिक स्वीकृतिपछि जहाज खरिद प्रक्रिया अघि बढ्ने भएको छ। निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले अर्थमन्त्रालय जमानी बस्न तयार भइसकेको अवस्थामा पैसा जुटाउन कठिन नभएकाले एक वर्षभित्र दुई एयरबस ल्याउने सपना साकार भएको सम्झनुपर्ने सुनाए।
‘२०७४ असोजसम्ममा पहिलो र चैत मसान्तसम्ममा अर्को एयरबस ल्याइसक्ने हाम्रो कार्यतालिका छ,’ महाप्रबन्धक कंसाकारले सेतोपाटीसँग भने। उनका अनुसार नागरिक लगानी कोष र सञ्चय कोष २५ अर्ब ऋण दिन यसअघि नै तयार भइसकेका छन्।
वायुसेवा निगमको कार्यतालिका अनुसार यसै असोज महिनाभित्र टेन्डर प्रक्रिया अगाडि बढाइने छ। ४५ दिने टेन्डर प्रक्रिया सकेपछि सम्बन्धित वायुसेवा कम्पनीसँग औपचारिक सम्झौता हुने र उसले २०७४ असोजभित्रमा पहिलो जहाज अवतरण गराउने गरी कार्य अगाडि बढाउने छ।
‘कुन कम्पनीको हुन्छ, युरोपियन वा अमेरिकन त्यो टेन्डर प्रक्रियापछि स्पष्ट हुनेछ, कम्तीमा एक हजार घन्टा उडेको (एक दुई महिना चलेको) एयरबस ल्याउने हाम्रो योजना छ,’ कंसाकारले भने।
नेपाल वायुसेवा निगमसँग अहिले दुई वटा एयरबस र एउटा बोइङ छ। जहाज अपुग रहेकाले यिनीहरूले लक्ष्यअनुसार उडान भर्न सकेका छैनन्।
कंसाकारका अनुसार अहिले दिल्ली, मुम्बई, बैंग्लोर, दोहा, दुबई, बैंकक, हङकङ र क्वालालम्पुर उडान भइरहेको छ। ती दुई एयरबस आइपुगेपछि जापान, दक्षिण कोरिया, साउदी अरब र अष्ट्रेलियामा उडान विस्तार गर्ने योजना छ।
नेपाल वायुसेवा निगमलाई भारतमा १७ ठाउँ उडान भर्ने अनुमति छ, जहाज नहुँदा अहिले तीन ठाउँ मात्र नियमित जहाज गइरहेको छ। यसैगरी, चीनमा ७ ठाउँ अनुमतिमध्ये एक ठाउँमात्र जहाज गइरहेको छ। ‘यो हुनुमा हामीकहाँ जहाज अपुग भएरै थियो, २८ वर्षपछि पोहोर साल बल्ल दुई जहाज खरिद भयो, त्यो पनि एउटा ग्राउन्डेड भए उडान नै स्थगित गर्नुपर्ने समस्या छ,’ कंसाकारले भने।
नेपाल वायुसेवा निगमले तीस वर्षअघि अमेरिकी कम्पनीका दुई वटा बोइङ खरिद गरेको थियो। त्यसमध्ये एसिबी कलसाइन भएको ७५७ बोइङ सञ्चालनमा छ। एसिए–७५७ बोइङ मर्मतका लागि सिंगापुरमा छ। एसिए बोइङ जहाज पुरानो भएकाले बेच्ने योजना निगमको छ। गत साल खरिद गरिएका दुई वटा एयरबस ए–३२० सगरमाथा र लुम्बिनी नियमित उडिरहेका छन्। आन्तरिक उडानमा निगमका पाँच जहाजमध्ये चार वटा उडिरहेका छन्। एउटा ट्वीनअटर जहाज ग्राउन्डेड छ।
२८ वर्षसम्म के ले रोक्यो खरिद?
तीन वटा जहाजबाट आठ स्थानमा उडान गर्दै आएको नेपाल वायुसेवा निगमका दुई वटा एयरबस दुई दिनमा ग्राउन्डेड हुँदा दुई तिहाइ अन्तर्राष्ट्रिय उडान रद्द भए।
आइतबार राति काठमाडौंका लागि उडेको वायुसेवा निगमको ए–३२० एयर बस (सगरमाथा) टायर पड्केर दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरियो। मंगलबार दिउँसो पराराष्ट्रमन्त्री प्रकाशशरण महत सवार निगमकै अर्को एयरबस (लुम्बिनी) पनि अवतरणको क्रममा टायर पड्केपछि ग्राउन्डेड भएको थियो। उक्त विमान तयार भइसकेको छ।
यसरी दुई वटा जहाज ग्राउन्डेड हुँदा निगमका दुई तिहाइ उडान रद्द भएका थिए। यसले उडानमात्रै नभएर व्यापारमा पनि असर पारेको निगमका अधिकारीहरूको भनाइ छ।
जहाजमा समस्या आएर एक दुई दिन थन्कनु सामान्य भएको भन्दै निगमसँग प्रयाप्त जहाज नै नभएकोले व्यापार र उडान दुबै प्रभावित हुने गरेको निगमका महाप्रबन्धक कंसाकार बताउँछन्।
‘गएको २८ वर्षमा विमान खरिद नगरिकन कानमा तेल हालेर बसियो, अनि अहिले आएर यो अवस्था नआएर के आउँछ?,’ उनले भने, ‘हामीसँग अहिले जहाज भएको भए यतिधेरै असहज परिस्थिति हुने नै थिएन, २८ वर्षसम्म जहाज खरिद के ले रोकेको थियो?’ उनले यसो हुनुमा निगमका कर्मचारीको कुनै दोष नरहेको बरू महाप्रबन्धक र त्यसभन्दा माथिल्लो तहले किन त्यसो गर्यो भन्ने विषय सोचनीय रहेको बताए।
एउटा जहाज थन्किँदा पनि सेवा प्रभावित हुने गरेको र यो एउटा राष्ट्रिय ध्वजाबाहक तथा व्यावसायिक संस्थाको लागि लाजमर्दो अवस्था भएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाही बताउँछन्।
अन्य विमान कम्पनीका जहाजहरूमा दैनिक यस्ता समस्या आउने भए पनि उनीहरूसँग धेरै विमानहरू भएकाले उडान रद्द नहुने र बाहिर त्यति हल्ला पनि नहुने तर निगमसँग जहाज नै सीमित भएकाले यस्तो समस्या आएको मन्त्रीदेखि कर्मचारीसम्मको भनाइ छ।
यसअघि के भयो के भएन भनेर लाग्नुभन्दा पनि अब समस्याको समाधान विमान खरिद रहेकाले त्यसको लागि आफू लागिरहेको कंसाकार बताउँछन्।
संसारमा प्रत्येक दिन यस्ता सामान्य प्राविधिक समस्या आउँदा जहाजहरू ग्राउन्डेड भइरहने गरेको कंसाकार बताउँछन्। ‘सुरक्षाको कारण त्यतिबेला उच्च सतर्कता अपाउनुपर्छ, नेपालमा चाहिनेभन्दा बढी हल्ला हुने गरेको छ,’ उनी भन्छन्, ‘जसरी अन्य मेसिनरी चिजमा समस्या आउँदा रोकिन्छ, त्यसैगरी जहाज पनि रोकिने सामान्य हो, तर जहाजमा धेरै धनजन जोडिएको हुनाले यसको महत्व बढी चर्चा बढी हुन्छ।’
नेपालमा अहिले २७ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान गरिरहेका छन्। यी कम्पनीका एक दुई जहाजमा समस्या आउँदैमा उडान रोक्नुपर्ने अवस्था छैन। ‘उनीहरूसँग पर्याप्त जहाज छन्, हामीसँग छँदै छैनन्, यही हो समस्या,’ कंसाकारले भने।
मंगलबार दिउँसो काठमाडौंमा ग्राउन्डेड भएको विमान मर्मतपछि उड्नको लागि तयार भएको छ। मंगलबार राति नै एयरबस लुम्बिनी हङकङका लागि उडेको छ।
त्यस्तै, दिल्लीमा ग्राउन्डेड भएको एयरबस सगरमाथा मर्मत कार्य भइरहेको र सकेसम्म बिहीबारसम्ममा तयार वायुसेवा निगमले जनाएको छ।
विमान थन्किँदा यात्रुहरूलाई कमभन्दा कम असुविधा होस भनेर निगमले रद्द भएका उडानका यात्रुहरूलाई अन्य वायुसेवा कम्पनीबाट सेवा दिएको बताइएको छ