भारतका पूर्व टेस्ट कप्तान सौरभ गांगुलीले वर्तमान कप्तान विराट कोहलीको तारिफ गर्दै उनको कप्तानीमा भारतले ठूलो उपलब्धी हात पार्ने बताएका छन्।
विराटको कप्तानीमा भारतले ७ वटा टेस्ट जितिसकेको छ। भारतले आउँदो बिहिबारदेखि न्युजिल्यान्डसँग ३ टेस्टको शृंखला खेल्दैछ।
भारतले पहिलो टेस्ट कानपुर र दोस्रो टेस्ट सेप्टेम्बर ३० मा कोलकाताको इडेन गार्डेनमा खेल्दैछ। ४४ वर्षिय गांगुलीले भने–‘वर्तमान अवस्थामा विराट मेरो सबैभन्दा प्रिय कप्तान हो। ऊ निकै प्रतिभाशाली खेलाडी हो। कम उमेरमा उसले देशका लागि गरेको योगदान सह्रानीय छ। उसको क्षमता, लड्ने भावना र जीतका लागि भोकले भारतीय क्रिकेटलाई माथि लानेछ।’
भर्खरको क्यारेबियन भ्रमणमा कोहलीको कप्तानीमा भारतले वेष्ट इन्डिजमाथि फराकिलो जीत दर्ता गराएको थियो। उनले त्यही दोहोरो सतक पनि बनाएका थिए। भारतले न्युजिल्यान्डसँग ५ वटा एकदिवसीय शृंखला खेल्ने कार्यक्रम पनि रहेको छ। ‘मलाई लाग्छ, अहिलेको स्थितिमा इङ्ल्यान्डपछि दोस्रो उत्कृष्ट टिम हो, न्युजिल्यान्ड। तर, भारतमा उसलाई हराउनु असम्भव जस्तै छ। सबैलाई थाहा छ। न्युजिल्यान्डलाई पनि,’ गांगुलीले भने।