प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान दिवस अलग्गै मनाउने निर्णय गरेको छ ।
एमालेले शनिबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी असोज ३ गते जुलुससहित काठमाडौंको वसन्तपुरमा संविधान दिवस मनाउने जानकारी दिएको हो।
सरकारले असोज ३ गते बिहान सैनिक मञ्चमा संविधान दिवसको कार्यक्रम राखेको छ। संविधान दिवस अन्तर्गत माइतीघरस्थित शान्तिवाटिकामा भेला भएर वसन्तपुर जाने र त्यहाँ पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।
एमालेका महासचिव ईश्वर पोखरेलले आफ्नो संविधान आफैं बनाउने नेपाली जनताको आधा शताब्दी लामो आकांक्षा र संघर्षको परिणामस्वरुप संविधान जारी भएको एक वर्ष पुगेको खुसीयालीमा पार्टीले संविधान दिवस मनाउने निर्णय गरेको बताएका हुन्।
संविधानप्रति असन्तुष्ट मधेशवादी दलहरुले संविधान दिवसको दिन कालो झण्डा प्रदर्शनको कार्यक्रम राखेकामा एमाले महासचिव पोखरेलले आफूहरु झडप गर्ने पक्षमा नरहेको तर राष्ट्रिय दिवसको दिने हुने विरोध प्रदर्शनको जनस्तरबाट अवज्ञा हुने बताए।
संविधानप्रति असन्तुष्ट मधेशवादी दलहरुको मोर्चाले माइतीघर मण्डलामा कालो झण्डा प्रदर्शन गरी असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकेको छ।
निर्वाचन नगर्ने षड्यन्त्र भयो
नेकपा एमालेले वर्तमान सरकार देशमा निर्वाचन नगरी संविधानलाई निष्प्रभावी बनाउने खेलमा लागेको आरोप लगाएको छ।
एमालेले आफ्नो नेतृत्वको सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै समयमै चुनाव गराउन सरकार समक्ष माग गरेको छ।
एमाले महासचिव ईश्वर पोखरेलले मुलुकलाई संवैधानिक शून्यतातिर लैजाने र राजनीतिक सङकट खडा गर्ने षड्यन्त्र भइरहेको भन्दै यसका विरुद्धमा लाग्ने बताए।
एमाले नेतृत्वको सरकारले मंसिरमा स्थानीय तह, चैतमा प्रदेश तह र अर्को वर्षको मंसिरमा केन्द्रीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो। अब यो प्रस्ताव सम्भव छ भन्ने पत्रकारको जिज्ञाशामा उनले भने, ‘एमाले जसरी पनि निर्वाचन चाहान्छ निर्वाचन, निर्वाचन फेरि पनि निर्वाचन।’
प्रधानमन्त्रीको भ्रमण परम्परागतःभीम आचार्य
पत्रकार सम्मेलनमा एमाले सचिव भीम आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण परम्परागत मात्रै भएको बताएका छन्।
भारत भ्रमण जानसाथ सबै कुरा पाउनुपर्छ भन्ने होइन तर भ्रमणमा जानु अगाडि यो गर्छु र त्यो गर्छु भनेकोले अब त्यो पुरा भयो कि भएन मूल्यांकन गर्नुपर्ने समय आएको बताए।
हाम्रो शासकीय प्रणाली नै त्रुटीपूर्ण छः प्रदिप ज्ञावली
एमाले सचिव प्रदिप ज्ञावलीले संविधानमा रहेको शासकीय व्यवस्थाका कारण मुलुकमा अस्थिरता उत्पन्न भएको बताए। ‘अहिलेको व्यवस्थामा नेपालमा कुनै पनि पार्टीले बहुमत ल्याउन सक्दैन। त्यसैले सरकार बनाउने र भत्काउने खेल सधैं चलिरहन्छ,’ ज्ञवालीले भने। संविधानसभाको आकार अनुसार आफ्नो पार्टी भने अनुसारको प्रत्यक्ष निर्वाचीत कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न नसकिएको उनले बताए।
सबै संवैधानिक निकाय बलियो हुनुपर्छः ईश्वर पोखरेल
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले माओवादी लडाकु शिविरमा भएको आर्थिक घोटलाको विषयमा छानबिन गर्ने घोषणाबारे एमाले महासचिव ईश्वर पोखरेलले घुमाउरो जवाफ दिएका छन्। उनले सबै संवैधानिक निकाय बलियो हुनुपर्ने र स्वतन्त्र रुपमा मात्रै काम गर्नुपर्ने धारणा राखेका छन्। ‘असंवैधानिक ढंगले भएका सबै कामहरुको छानबिन गर्नुपर्छ,’ उनले भने ।