अख्तियार दुरूपयो अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै रहेको खुलेको छ।
आइतबारको मन्त्रिपरिषद बैठकमा स्वास्थ्य मन्त्री गगन थापाले कार्कीको नियुक्तिसम्बन्धी कागजात हराएको विषय उठाएका थिए। थापाले जिज्ञासा राखेपछि मुख्य सचिव सोमलाल सुवेदीले नियुक्तिसम्बन्धी माइन्यूट कार्यालयमै रहेको जानकारी दिएका थिए। यो समाचार आजको कान्तिपुरमा बालकृष्ण बस्नेतले लेखेका छन्।
‘नियुक्तिको माइन्यूट हराएको थिएन। प्रधानमन्त्री कार्यालयमै छ। हामी केही दिनमै अदालतमा त्यसबारे जवाफ दिन्छौ,’ मुख्य सचिव सुवेदीले भने,‘ बाहिर भनिएजस्तो भूकम्पका कारण फाइल तलमाथि परेको होइन।’
कार्कीविरुद्ध परेको रिट पुनरावलोकनका क्रममा सर्वोच्च अदालतले भदौ १० मा फाइल झिकाउने आदेश दिएको थियो। त्यसमा प्रतिउत्तरपत्र बुझाउँदै प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयले ‘भूकम्पका कारण फाइल भेट्टाउन नसकिएको र खोजी भइरहेको’ लिखित जवाफ दिएका थिए । ‘गत वर्षको विनाशकारी भूकम्पबाट यस कार्यालयको भवनमा क्षति पुग्न गई भवन सरेकाले उल्लिखित फाइल फेला पार्न नसकिएको हुँदा फेला पर्नासाथ उपलब्ध गराइने व्यहोरा निर्णयानुसार अनुरोध छ,’ सर्वोच्चलाई पठाइएको पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भनेको थियो ।
उक्त जवाफप्रति असन्तुष्ट भई सर्वोच्चले गत शुक्रबार ७ दिनभित्र फाइल नबुझाए कानुनअनुसार कारबाही हुने आदेश दिएको थियो । कार्कीलाई नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय त्रुटिपूर्ण भएको दाबीका साथ परेको रिटमा सर्वोच्चले सम्बन्धित कागजात मागेको थियो ।