‘बसमा यात्रा गर्दा कुनै पुरुष तपाईको पछाडि टाँसिन आउँछ र तपाईलाई दुव्र्यवहार गर्छ भने नडराउनुस्,’ सुनसरीको इटहरीमा जारी पाँच दिने महिला हिंसाविरुद्ध प्रतिरक्षात्मक खेलकुद प्रशिक्षणका प्रमुख प्रशिक्षक मोहन विक भन्दै थिए, ‘पहिला त आँट जुटाउनुस्, त्यसपछि त्यो मानिसको आँखामा रिसाएर हेरिदिनुस्,’ उनले थपे, ‘त्यती गर्दा पनि नभए देब्रे हातलाई दह्रो बनाएर कुहिनाले त्यो मानिसको पेटमा दह्रो गरी हानिदिनुस् ।’
प्रशिक्षणमा सहभागि एक सय बढी किशोरीहरुले ताली बजाए अनि पटक पटक अभ्यास गरे । आफूमाथि दैनिकजसो हुने दुव्र्यवहारका घटनाबाट आजित उनीहरु यो नयाँ तरिका सिकेर खुसी देखिन्थे । बसमा दुव्र्यवहार गर्ने पुरुषतिर फर्किएर घुँडाले पुरुषको तल्लो पेटमा हिर्काउने तरिकासमेत सिके । त्यतीमात्र होइन, अंगालो हाल्ने, हात समात्ने जस्ता घटनामा कसरी सानो मेहेनतमै प्रतिकार गर्न सकिन्छ भन्ने तरिका समेत सिके ।
महिलाहरुले सार्वजनिक बस, कार्यक्षेत्र, चोक, बाटो तथा गल्लीहरुमा यौन दुव्र्यवहारको सामना गर्दै आइरहेका छन् । सुरक्षा निकायलेसमेत महिला हिंसा न्युनिकरण गर्न नसकेको अवस्थामा महिलाहरुलाई नै सक्षम बनाएर प्रतिरोध गर्न सक्ने बनाउन आयोजित तालिममा सहभागि किशोरीहरु औधी खुसी छन् ।
‘तालिमले शारीरिक कसरतका साथै केटाहरुले केटीलाई दुव्र्यवहार गर्दा कसरी सचेत गराउने भन्ने बारे जानकारी पाइरहेका छौं,’ इटहरी ४ की विना लिम्बुले बताइन् । उनकै साथी इटहरीस्थित कचना माविमा पढ्ने सुजता भट्टराईलेसमेत आफूहरुमाथि हुने हिंसा घटाउन र महिलालाई पछि पर्न नदिन तालिम उपयोगि रहेको प्रतिक्रिया दिइन् ।
कार्यक्रममा सहभागि महिला प्रहरी मञ्जु राउतले समेत यस्तो तालिम सबै महिलाहरुलाई दिए महिला हिंसा न्युनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । महिला प्रहरीहरुलाई समेत खेलमा आधारित विभिन्न प्रतिरक्षात्मक तरिका सिक्न आवश्यक रहेको बताइन् ।
राष्ट्रिय खेलकुद परिषद्की कर्मचारी सरस्वती केसीले नेपालमा महिलाहरुमाथि हिंसा हुने र बलात्कृत हुने क्रम बढिरहेकोले उनीहरुलाई हिंसा तथा बलात्कारबाट रोक्नको लागि यस्तो कार्यक्रम गरिएको बताएकी छिन् । यस्तो तालिमलाई इटहरीबाट सुरु गरेर प्रभावकारीताको आधारमा अन्य स्थानमा पनि सञ्चालन गर्ने योजना छ ।
शनिबारदेखि सुरु भएको तालिममा मोहन विकका साथै तीन जना ब्ल्याक बेल्ट खेलाडीहरु सुनिता श्रेष्ठ, ज्ञानकुमारी चौलागाई र ज्ञानी सुनाराले समेत प्रशिक्षण दिइरहेका छन् । यो कार्यक्रमले आउँदो मंसिरमा पूर्वमा हुन लागेको सातौं राष्ट्रिय खेलकुदलाई समेत भव्य बनाउन सहयोग गर्ने प्रमुख प्रशिक्षक विकले बताएका छन् । उनले हिंसा न्युनिकरणको लागि कार्यक्रम कोशेढुंगा हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमको उद्घाटन गर्दै परिषद्का सदस्य सचीव केशव विष्टले खेलकुदमा अघि बढेका महिलाहरुमाथि हिंसाका घटनाहरु नहुने बताएका थिए । उनले महिला खेलाडीहरु हिंसाको प्रतिकार गर्न सक्ने हुँदा बालिका तथा किशोरीहरुलाई खेलमा प्रेरित गर्नुपर्ने बताए ।