पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले संविधानमाथि अनावश्यक राजनीति भएको टिप्पणी गरेका छन्।
नेपाल कानुन समाजले संविधान जारी भएको एक वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संविधानले राजनीतिलाई निर्देष गर्नुपर्नेमा यसका नाममा राजनीति भएको आरोप लगाए।
‘संविधानले राजनीतिलाई निर्देषित गरोस्। कानुन मान्ने न्युनतम संस्कृति बनाइएन भने संविधान लागू हुन अप्ठ्यारो पर्छ,’ उनले भने।
त्यस्तै नयाँ निर्वाचन नभएसम्म दलहरु मिल्नुपर्ने उनले सुझाव दिएका छन्। जतिसक्दो चाँडो निर्वाचन गर्नुपर्नेमा जोड दिदैँ उनले भने, ‘निर्वाचनको विकल्प छैन। दलहरु किन निर्वाचनसँग डराएका छन्? जति खर्च लगाएर भएपनि निर्वाचन गर्नुपर्छ।’
अहिले मुलुक संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै उनले यसका लागि धेरै कानुन बनाउनुपर्ने भएकोले दलहरुले एक अर्कासँग जति रिस उठेपनि संयन्त्र खडा गर्नुपर्ने सुझाव दिए।
शिर्ष नेतादेखि स्थानीय तहसम्म संवाद जरुरी रहेको भन्दै उनले भने ‘नेताले जित्ने जनताले हार्ने परिस्थति उत्पन्न हुनु हुँदैन। नेतादेखि जनतासम्म रुपान्तरण हुन जरुरी छ।’
संविधानको जन्म मात्रै भएको तर यो हुर्की नसकेको उनको तर्क छ। पूर्ण संविधान सम्भव नभएको भन्दै उनले भने ‘आफूसँग भएका सबै समस्याको समाधान संविधानले गर्छ भन्ने सोच राख्नु हँुदैन।’
विकासलाई अग्र गति नदिईकन राजनीतिमा मात्रै अल्मलिए संविधान कार्यान्वयनमा समस्या आउने उनको भनाइ छ।