सहिद रत्नकुमार वान्तवाको इलामको चमैतास्थित चित्रेमा रहेको पुरानो घरसहितको संरचना संरक्षणका लागि सरकारले एक करोडभन्दा बढी रकम छुट्याएको छ।
मृत्यु भएको ३७ वर्षपछि सहिद घोषित हुनुभएका वान्तवाले निर्माण गर्नुभएको सुरुङ, घर, सहादत प्राप्त गरेको स्थान र समाधि संरक्षणका लागि उक्त रकम विनियोजन गरेको रत्न—बम प्रतिष्ठानले जानकारी दिएको छ।
चित्रेमा पार्क निर्माणका लागि मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिमार्फत आठ लाख विनियोजन भइसकेको छ। बजेट नहुँदा वान्तवाले बनाएको सुरुङ र घर जीर्ण बन्दै गएका थिए। रत्नको स्मृतिमा उनका परिवारले प्रतिष्ठानलाई दुई रोपनी जग्गा उपलब्ध गराइसकेका छन्। थप पाँच रोपनी जग्गा प्रतिष्ठानले खरिद गरिसकेको प्रतिष्ठानका अध्यक्ष डा देवी क्षेत्री दुलालले जानकारी दिए।
विनियोजित रकमबाट सुरुङ र घरको जीर्णोद्धार, रत्न र उहाँका सहकर्मी अर्का योद्वा बम वान्तवाको पूर्णकदको सालिक राख्ने, पुस्तकालयसहितको सामुदायिक भवन निर्माण र कम्पाउन्ड बनाइने प्रतिष्ठानले जनाएको छ। रत्नका रचनाहरू समेटेर एउटा पुस्तकसमेत प्रकाशित गर्ने प्रतिष्ठानले जनाएको छ।
गत फागुन १९ गते सरकारले रत्न वान्तवालाई सहिद घोषणा गरेको थियो। २००८ साल चैत २७ गते जन्मिएका रत्न वान्तवाको २०३५ साल चैत २७ गतेकै दिन इलाममा हत्या भएको थियो। रासस