धम्क्याएर चन्दा माग्दामाग्दै नेकपा माओवादी विप्लव समूहका दुई कार्यकर्तालाई प्रहरीले बुधबार कलंकीबाट समातेको छ। कलंकीस्थित क्याम्ब्रिज कलेजमा चन्दा मागिरहेका बेला विप्लव समूहका कार्यकर्ता महेन्द्र तामाङ र प्रमोद गिरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
नुवाकोट घर भई हाल कलंकी बस्दै आएका गिरी अनेरास्ववियुका पूर्वसह-सचिव (हाल कार्यकर्ता) हुन् भने गिरी विप्लव समूहका कालीमाटी विप्लव माओवादी काठमाडौं जिल्ला सदस्य हुन्। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार उनीहरूलाई हिरासतमा लिई कारबाही थालिएको छ।
पक्राउ परेका दुबै जनालाई चन्दा ऐनअनुसार बिहीबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी कारबाही थालिएको एसपी कार्कीले जानकारी दिए।
उता, बागबजारबाट वैद्य समूहको नेकपा-माओवादीका चार जना व्यापारीबाट चन्दा उठाउँदै गर्दा समातिएका छन्। चारै जनालाई चन्दा ऐनअनुसार बिहीबार जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी कारबाही थालिएको छ।
पक्राउ पर्नेमा सप्तरी घर भएका पूर्वसभासद शिवराम यादव, नेवा राज्य समिति सदस्य दीपेन्द्र गहतराज, अखिल क्रान्तिकारी केन्द्रीय संयोजक राम नेपाली र केन्द्रीय सदस्य महेश श्रेष्ठ छन्। ‘बागबजारका व्यापारीबाट चन्दा उठाउँदै गर्दा उनीहरू पक्राउ परेका हुन्,’ एसपी कार्कीले भने।
काठमाडौंका स्कुलमा बम राख्न थालेपछि प्रहरीले विप्लव समूहका कार्यकर्तामाथि निगरानी बढाएको छ। यसक्रममा चन्दा असुल्ने तथा राजनीतिक आवरणमा अन्य गैरकानुनी गतिविधि गर्नेहरू पक्राउ गर्ने अभियानै काठमाडौं प्रहरीले चलाएको छ।
‘पक्राउ परेकालाई कानुनअनुसार कारबाहीको प्रक्रिया सुरू भइसकेकाले कसैले पनि उन्मुक्ति पाउँदैनन्,’ कार्कीले भने।
आफ्ना कार्यकर्ता समातिएको बिरोधमा वैद्य समूहले विरोधदेखि चक्काजाम घोषणा गरेको छ। पार्टी कार्यालय बुधनगरमा पत्रकार सम्मेलन गरी वैद्य समूहले असोज ७ गते बिहान १०-११ बजेसम्म चक्काजाम गर्ने, ८ गते दिउँसो सिठी जुलुश निकाल्ने र ९ गते उपत्यका बन्द गर्ने घोषणा गरेको छ।