नाेट : बिपी कोइरालाले हिन्दीमा लेखेकाे ८ वटा दूर्लभ कथा हरेक साता सेतोपाटीमा प्रकाशित हुनेछन्। - प्रधान सम्पादक
गोलो अनुहार। माइनस ३.५ को पावरवाला चश्मा। पहिलो पल्ट उनलाई भेट्ने जो कोहीलाई लाग्न सक्ला, ५७ वर्षीय यी फिनिस नागरिकलाई नेपालको विषयमा खासै के जानकारी होला?
मिरिया मल्लिक, सन् १९८६ मा जतिबेला भारतको जयपुरमा सांस्कृतिक इतिहासमाथि सोध गर्न आइन्, उनको भेट त्यहीँ केही नेपालीस“ग भएको थियो। त्यतिबेला जयपुरमै पढिरहेका नेपाली ‘रणजीत मल्ल’ को नाटक मञ्चन गरिरहेका थिए।
कलाकारको कमीले गर्दा होला! उनले त्यो नाटक ‘असिस्ट’ गर्ने अवसर पाइन्। उनलाई त्यतिबेलै लागेको रहेछ, नेपाली समाज निकै सहिष्णु छ। त्यसैले उनी तत्काल नेपाल आउन चाहन्थिन्। तर, कार्यव्यवस्तताका कारण मौका जुरेन।
पिएचडी सकेपछि उनी फिनल्यान्डस्थित आफ्नो घर फर्किन्। यस अवधिमा केही वर्ष स्वीडेन पनि बसिन्। पछि डेनमार्क हुँदै सन् २००६ मा नर्डिक सेन्टरको प्रमुख बनेर फेरि भारत फर्किइन्। यतिबेला भने उनलाई मौका जुर्यो, नेपाल आउने। सन् २००७ मा पहिलोपल्ट काठमाडौं आउँदा नजिकै बनेको हिन्दु र बौद्धको मन्दिर देखेर उनलाई विश्वास भएछ, वास्तवमै नेपाली समाज तोड्नेभन्दा जोड्ने रहेछ।
भारतमा बस्दा प्रायः उनी नेपाली नेता, खासमा बिपी कोइरालाको विषयमा धेरै सुन्थिन्। त्यसमा पनि जब उनी बनारसमा इनलानसो (सेन्टर फर द स्टडी अफ इन्डियन ल्याङ्वेजेज एन्ड सोसाइटी)को ‘एकेडेमिक डाइरेक्टर’ बनिन्, त्यसपछि उनलाई थाहा भयो, बिपी नेपालका राजनीतिज्ञ मात्र थिएनन्, उत्कृष्ट साहित्यकार पनि।
यसपछि उनलाई लागेछ, बिपीको राजनीतिको बारेमा भारतमा चर्चा त धेरै हुन्छ तर साहित्यको विषयमा खासै महत्व राखिँदैन। त्यसैले उनले बिपीको साहित्यमाथि सोध गर्ने अठोट गरिन्।
यसैक्रममा उनले आश्चर्य पार्ने थुप्रै तथ्य फेला पारिन्। बिपीले नेपाली भाषामा कलम चलाउनुअघि हिन्दी भाषामा थुप्रै कथा-कविता लेखेका थिए।
मिरिया विगत तीन वर्षदेखि बिपीको हिन्दी साहित्यमाथि सोध गरिरहेकी छिन्। यस अवधिमा उनी बनारसदेखि कोलकाता, इलाहाबाद, पटना हुँदै बारम्बार नेपाल आएकी छिन्। यसैक्रममा गत शुक्रबार नेपाल आइपुगेकी मिरियाले भनिन्, ‘बिपीले हिन्दीमा लेखेको आठ वटा फुटकर कथा फेला पारेकी छु।’

उनले पछिल्लो समय पटनामा फेला पारेको ‘होड’ कथाले बिपीप्रतिको आफ्नो बुझाइ नै परिवर्तन गरेको बताउँछिन्। ४० को दसकमा लेखिएको यो कथा शिवपुजन सहायको सम्पादनमा पटनाबाट प्रकाशित हुने हिमालय पत्रिकामा प्रकाशित भएको थियो। जसलाई पछि नेपाली भाषामा पनि उल्था गरियो।
कथामा नारीजातिको अन्तरसंघर्षलाई बिपीले यति मीठो र सरल भाषामा उजागर गरेका छन्, जुन मिरियाका लागि अचम्म पार्ने खालको थियो। ‘बिपी पनि पुरुषप्रधान देशमै जन्मिएर हुर्किएका व्यक्ति हुन्। तर, उनले यति सूक्ष्म ढंगले नारीहरूको अन्तरसंघर्षलाई उजागर गरेका छन् कि उनको कथा जतिपल्ट म पढ्छु, यसले मलाई अचम्मित तुल्याउँछ,’ मिरिया भन्छिन्।
बिपीको साहित्यमा उनको राजनीतिक उतारचढावले कति महत्व राख्यो, त्यो अझै सोधको विषय होला? तर, उमेरसँगै उनको लेखनीमा आएको परिवर्तनलाई भने महसुस गर्न सकिने मिरिया बताउँछिन्।
बिपीको सबै साहित्य उत्कृष्ट भएको उनको ठम्याई छ। तर, इलाहाबादमा फेला परेको ‘वहाँ’ कथाबाट भने उनी निकै प्रभावित छिन्। उनी यसलाई विश्वकै उत्कृष्ट फुटकर कथामध्ये मान्छिन्। बिपीले यो कथा आफू १६ वर्ष हुँदा लेखेका थिए।
‘१६ वर्षमै दार्शनिक चिन्तनसहित लेखिएको यति सशक्त छोटो कथा। मलाई लाग्छ, यस्तो कथा हेन्स हेन्र्डसनले मात्र लेख्थे।’
उनी भारतमा फेला परेको यी कथालाई हिन्दी, नेपाली, अंग्रेजी, फिनिस र स्वीडिस गरी पाँच भाषामा निकाल्ने तयारीमा छिन्। बिपीको हिन्दी साहित्य भारतका महान साहित्यकार मुन्सी प्रेमचन्दले बनारसबाट प्रकाशित गर्ने ‘हंस’ पत्रिकामा मात्र होइन, रामानन्द चटर्जीको सम्पादनमा कोलकाताबाट प्रकाशित हुने ‘मोर्डन रिभ्यु’ तथा बनारसीदास चतुर्वेदीको सम्पादनमा ‘विशाल भारत’ मा पनि प्रकाशित हुने गर्थ्यो।
‘कति लेख्नुभयो। कसैसँग यथेष्ट प्रमाण छैन। मैले आठ वटा फेला पारेकी छु। अझै खोजी कार्य जारी छ,’ ५७ वर्षीय मिरिया भन्छिन्।
बिपीले समाजवादी नेता तथा पत्रकार भोला चटर्जीलाई दिएको अन्तर्वार्तामा आफू नौ कक्षा पढ्दै गर्दा सन् १९२९ देखि प्रेमचन्दसँग संगत भएको बताएका थिए। मिरिया बिपीको साहित्यिक अनुराग बढाउन प्रेमचन्द, समालोचक शान्तिप्रिया द्विवेदी, जयशंकरप्रसाद, बनारस हिन्दु विश्वविद्यालय कला संस्थानका निर्देशक रामकृष्ण दास, बनारसीदास चतुर्वेदी, रामानन्द चटर्जीजस्ता साहित्यकारको ठूलो हात रहेको बताउँछिन्। तर, साहित्य लेखनमा जुन किसिमको शब्द चयन र कल्पनाशीलता छ, त्यो बिपीको जन्मजात गुण भएको उनको ठम्याइ छ।
उदाहरणको रुपमा उनी १६ वर्षको उमेरमा बिपीले लेखेको ‘वहाँ’ कथालाई लिन्छिन्। भन्छिन्, ‘एउटा सानो बच्चा आफ्नो आमालाई तारा के हो? भनेर सोधिरहेछ। ऊ आमालाई मृत्युको विषयमा सोधिरहेको छ। मनोविज्ञानको कुरा गरिरहेको छ। यसमा दार्शनिक चिन्तन पनि देखिन्छ। र, ऊ समाधान पनि दिन्छ, ‘जब आमा सुत्छे। अनि कसैलाई थाहा नदिई सुटुक्क प्वाँख लगाएर उडेर तारामा जान्छु।’
रुसी साहित्यकार एन्तोन चेखोवबाट बिपी प्रभावित भए पनि लेखनमा तुर्गेनेभ र मेक्सिम गोर्कीजस्तै मिठास पाइने उनी बताउँछिन्। भन्छिन्, ‘प्रेमचन्द सवैभन्दा बढी प्रभावित मेक्सिम गोर्कीबाट थिए। त्यहीँबाट बिपीमा सरेको पनि हुन सक्छ।’ उनी बिपीको लेखनमा छोटो वाक्य, मीठो भाषा, त्यो पनि बोलचालको हुने हुँदा निकै सशक्त अनुभूत हुने बताउँछिन्।
सानैदेखि दुःख र कष्टमा हुर्किएको कारण पनि बिपीको लेखनमा मनोविज्ञानको प्रचुर प्रयोग भएको हुन सक्ने मिरियाको ठम्याइ छ। नेपालजस्तो रुढिवादी समाजमा त्यतिबेलै यौनको विषय उठान गरेका बिपीलाई उनी साहसी साहित्यकार पनि भन्न रुचाउँछिन्। ‘यौनकै कुरा लेख्दा बंगलादेशी लेखिका तसलीमा नासरिनलाई फत्वा (मृत्युदण्ड) जारी भयो। अर्का लेखक सलमान रुस्दी भारत आउन सक्दैनन्। तर, मान्नुपर्छ नेपाली समाजलाई, ६०-७० वर्ष अगाडि बिपीले धर्मभिरु र यौनमाथि चलाएको कलमलाई स्वीकार गरे। हिन्दीमा नै त्यो साहित्य प्रकाशित भएको भए सायद उनको हालत पनि तसलीमा र रुस्दी जस्तै हुन सक्थ्यो।’
अर्को छोटो कथा ‘बम्बई कि प्रति’ लाई मिरिया बिपीको राजनीतिक दृष्टिकोणको रुपमा लिन्छिन्। भन्छिन्, ‘बिपी प्रयोगकर्ता मात्र होइनन्। त्यसको समाधान पनि दिनसक्ने साहित्यकार हुन्।’
बिपीले हिन्दीमा लेखेको कथाबाट नेपाली भाषाका समालोचक सूर्यविक्रम ज्ञवाली प्रभावित थिए। उनले पछि बनारसमा बिपीलाई चिठी पठाउँदै नेपाली भाषामा लेख्न आग्रह गरेका थिए। त्यसपछि बिपीले सन् १९३५ तिर नेपाली भाषामा कथा लेख्न थाले। मिरियाको निष्कर्ष छ, ‘बिपीको हिन्दी लेखन जबरजस्त थियो। उनले हिन्दीमै लेखिरहेको भए उनी अहिले भारतमा कहलिएका लेखक हुन्थे।’ त्यसैले, उनी अहिले बिपीको हिन्दी साहित्यलाई संसारभरि फैलाउने अभियानमा छिन्।
हेरौं, यसमा उनी कति सफल हुन्छिन्।
१६ वर्षको उमेरमा बाल मनोविज्ञानमाथि बिपीले लेखेको छोटो कथाः
‘वहाँ’
तारे टिमटिमा रहे थे।
‘अम्मा मुझे बता न, ये सब क्या है?’
‘उसे सितारे कहते हैं, मन्नू, सब आदमी मरने के बाद वही जाते हैं और, जन्म लेने के पहले वहीँ रहते हैं। तू भी तो वहीँ था।’
बालक ने सोचा–वह भी तो वहीँ रहता था। अपने भूले हुए निवास–स्थान को विस्मित होकर देख्ने लगा। फिर सोचा–वहाँ पर भी ‘कमरे’ होंगे, खिलोने होंगे!
वह एक–एक तारे की ओर अँगुली उठाकर कहने लगा– बहन का घर यह होगा, मेरा घर वह। और तब तो भाई का घर वह होगा माँ का कहाँ होगा? माँ का वह बडा घर होंगा–चन्दा! बाँकी वे सब किसके घर होंगे? रामू, श्यामू इत्यादि साथी उसे याद आने लगे।
एकाएक माँ की तरफ देखकर कहने लगा– मुझे तो भला मालूम पडता है। वहाँ हमलोग कब जायेँगे माँ?
‘मरने के बाद मन्नू।’
‘मृत्यु क्या है? मरने के बाद क्यो जायें! अभी क्यों न जायेँ? कुछ समक्ष में नही आया.....।’
इस बातचीत में वह सबका घर भूल गया– न जाने किस–किसका कहाँ–कहाँ ठीक किया था।
हाँ, केवल चुन्नू का घर उसे पहचान पडा–उसी कें आस–पास अपना घर ढूढने लगा। एकटक तारों की ओर देखता रहा।
‘चलो रात बहुत हो गइ, सोने चलो’– माँ ने कहा।
मन्नू ने सोचा– जब सब लोग सो जायेंगे और वह मैना भी सो जायेगी, तब मै चुपके से उसके पंख लेकर उड जाऊँगा।
(हंस, अंक–७, जन. १९३१)