चोरी, लुटपाट तथा आपराधिक कार्यमा संलग्न ११ जनालाई इलाका प्रहरी कार्यालय बुटवलले रुपन्देहीका विभिन्न स्थानबाट पक्राउ गरेको छ। चाडपर्वको समयमा हुनसक्ने सम्भावित अपराधिक गतिविधि नियन्त्रणमा सक्रिय रहेको प्रहरीले मोटरसाइकल चोरी तथा हतियार देखाएर महिलाहरूले लगाएका गरगहना लुट्दै हिँड्ने गिरोहलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूले बुटवलको फुलबारी, सैनामैना, देबदह, भलुही, चरङगे जंगल र सालझण्डी फायरलाइन क्षेत्रमा जंगल घाँसदाउरा गर्न जाने महिलाहरूलाई हतियार देखाउँदै गरगहना, नगद र मोबाइल लुट्ने गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा सुनका गरगहना लुट्ने गुल्मी ठुलोलुम्पेक–२ का ३२ वर्षीय अर्जुन विक, पाल्पा बन्दीपोखरा–३ का २५ वर्षीय पाल्पाली भनी चिनिने राजन थापा, नवलपरासी दाउन्नेदेवी–७ का २५ वर्षीय अमर सोमै रहेका छन्। यसैगरी बुटवल उपमहानगरपालिका–१३ का २७ वर्षीय कृष्ण परियार, सोही ठाउँका ३७ वर्षीय भीमबहादुर सुनार र पाल्पा कोलडाँडा–९ का ३० वर्षीय चित्रबहादुर राना रहेका छन्।
पक्राउ परेका भीमबहादुर सुनार, अर्जुन विक र राजन थापाले जेठ ३२ गते बुटवल पाखापानी सामुदायिक वनमा च्याउ खोज्न गएकी हरिमाया दंगालको एक तोलाको सुनको रिङ, फुली र लक्ष्मी गुरुङको आधा तोलाको सुनको रिङ र ४ लालको फुली चोरी गरेका थिए।
यसैगरी, अर्जुन वि.क, राजन थापा, अमर सोमै र चित्रबहादुर राना तीन जना मिली असार १९ गते सालझण्डी फायरलाइनमा सीतादेवी मल्लको एक जोर सुनको रिङ चोरी गरेका थिए।
त्यस्तै, अर्जुन विक र राजन थापाले असार २० गते देवदह ११ चरङगे जंगलमा दिलमाया रोका मगरले लगाएको सुनको आधा सिक्री लुटेर भागेका थिए। जंगलमा घाँसदाउरा गर्न गएकी दिलमायाले लुटेराहरूसँग लडेर आधा सिक्री जोगाएको बताइन्।
प्रहरी नायब उपरीक्षक मरासिनीले पक्राउ परेका व्यक्तिहरू संगठित चोरीका घटनामा संलग्न रहेको बताए। त्यस्तै अमर सोमै, राजन थापा, कृष्ण परियार, भीमबहादुर, चित्र र अर्जुनले साउन ३२ गते भलुही जंगलमा प्रेमकुमारी पुनको एक जोडी कानको रिङ, तिलहरी १, मुन्द्रा १ जोडी र जुली ३ जोर चोरी गरेका थिए। उनीहरू भदौ १ गते फुलबारीबाट जमुना गुरुङ, सावित्रा गुरुङ र रुपा थापाको सुनको एक जोर रिङ, दुई जोर सुनको जुली, ३ थान मोबाइल र भदौ ३० गते ललिता गाहा र दीपा गाहाको चारपाला सामुदायक वनमा रोकि १३ हजार ५ सय नगद, साढे एक तोलको सुनको रिङ, कानमा लगाउने मुन्द्रा र मोबाइल चोरीमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरू विभिन्न समयमा आपराधिक गतिविधिमा संलग्न भएको र पक्राउ परी धरौटीमा छुटेको प्रहरी अनुसन्धानमा देखिएको छ। यसैगरी लुटेराहरूले ल्याएको सुन बिना बिल खरिद गरेको आरोपमा सैनामैना नगरपालिका–४ का ३१ वर्षीय राजु सुनार र बुटवल–१३ का ३० वर्षीय ज्ञानु सुनार पनि पक्राउ परेका छन्।
यस्तै, बुटवलको अस्पताललाइनमा पार्किङ गरी राखेको लु११प ६४३५ नम्बरको मोटरसाइकल चोरी गर्ने कपिलवस्तु बाणगंगा नगरपालिका–१० का २१ वर्षीय जनक क्षेत्री पक्राउ परेका छन्।
त्यसैगरी, असोज ७ गते बुटवल ८ पुष्पलाल पार्कमा पार्किङ गरी राखेको तारापति थापाको लु१०प ५४७२ नम्बरको मोटरसाइकल चोरी गर्ने दुई जनालाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा दाङ घोराही नगरपालिका–११ का २२ वर्षीय दिनेश चौधरी र सोही स्थानकै २८ वर्षीय सुमन चौधरी रहेका छन्। उनीहरूलाई मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट एक थान कटुवा पेस्तोल र त्यसको एक थान गोली, तीन थान खुकुरी, ११ थान विभिन्न कम्पनीका मोबाइल, दुई वटा मोटरसाइकल र एउटा स्कुटर समेत बरामद गरेको छ। बरामद गरिएको एउटा मोटरसाइकल चोरी कार्यमा प्रयोग गरिएको र एक एक वटा मोटरसाइकल र स्कुटर चोरेर लगेको प्रहरीले जनाएको छ।