जुम्ल्याहा दिदी मायांका र बहिनी माहिका राणाको जोडीले प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको महिला डबल्स उपाधि जितेका छन्।
तीन जोडी सहभागी राउन्ड रोविन लिगको अन्तिम खेलमा जुम्ल्याहा जोडीले विभूति कार्की र विजिशा श्रेष्ठको जोडीलाई सोमबार ६–३ र ६–३ को सोझो सेटमा पराजित गरे। राउन्ड रोविनको समाप्तिसँगै इरा रावत र अभिलाषा विष्टको जोडी दोश्रो भए।
अघिल्लो दिन उक्त जोडीले विभूति र विजिशालाई नै हराएका थिए। ललितपुर जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्स उपाधिका लागि मायांका र इरा भिड्ने छन्। सेमिफाइनलमा मायांकाले बहिनी माहिकालाई ६–०, १–६ र ६–० ले हराइन् भने इराले भगवती विकलाई ६–२ र ६–१ ले पाखा लगाइन्। सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा कमल भण्डारी र श्रीराम मगरको जोडीले सन्तोष खत्री र आत्माराम कार्कीको जोडीलाई ७–६ र ६–४ तथा महेश श्रेष्ठ र संरक्षकभूषण बज्राचार्यको जोडीले अनिल शाही र शक्ति शर्माको जोडीलाई ६–३ र ६–४ को सेटमा पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे।
पुरुष सिंगल्समा संरक्षकभूषण वज्राचार्यले श्रीराम मगरलाई ६–७, ६–२ र ६–१, सन्तोष खत्रीले रेन्जन लामालाई ६–३, ३–६ र ६–४, कमल भण्डारीले अनिल शाहीलाई ६–३ र ६–२ तथा नवीन मगरले प्रणव खनाललाई ६–४ र ६–३ को सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।