सप्तकोशी नदी बिचमा रहेको श्रीलंका टापुबाट मानिस स्थानान्तरण गर्न सुझाव दिइएको छ।
सप्तकोशीमा गत असोज १ गते भएको डुंगा दुर्घटनाबारे छानवीन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा वर्षेनी भइरहेको दुर्घटनाको दीर्घकालिन समाधानको रुपमा सो क्षेत्र खाली गराउन सुझाव दिएको हो।
त्यहाँ बस्ने मानिसको यकिन लगत नभएकोले लगत संकलन उरेर उनीहरुलाई जहाँबाट आएका हुन्, त्यही पठाउन सुझाव दिइएको छ। सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाको संयोजकत्वमा गठित ३ सदस्यीय समितिले बुझाएको प्रतिवेदनमा उक्त टापुलाई खाली गरी संरक्षित क्षेत्रको रुपमा विकास गर्न सुझाव दिएको हो।
श्रीलंका टापुबाट हाट भर्नका लागि प्रकाशपुर आउँदै गरेका मानिसले भरिएको डुंगा कोशीको मुल भंगालोमा दुर्घटनाग्रस्त हुँदा अझै नौ जना हराइरहेको र ती जिवितै भेटिने सम्भावना समेत नरहेको प्रतिवेदनमा लेखिएको छ।
प्रतिवेदनले डुंगामा क्षमताभन्दा बढी यात्रु तथा सामाग्री भएकोले दुुर्घटना भएको जनाएको छ। त्यस्तै पहाडमा पानी परेको कारण कोशी नदीमा बाढी बढ्नु, पूर्व सावधानी तथा सुरक्षाका सामान्य उपायहरू नअपनाउनु, डुंगा चालक परिपक्व नहुनुलाई पनि कारक मानिएको छ। त्यसका साथै डुंगा चलाकले मादक पदार्थ सेवन गरी डुंगा चलाएको समेत प्रतिवेदनमा उल्लेख छ।
यो पनि हेर्नुहोस्
श्रीलंका टापुमा मैले जे देखेँ
प्रतिवेदनले समस्या समाधानको अल्पकालिन उपायको रुपमा गाविसमा डुंगा दर्ता गर्ने, डुंगाको क्षमता निर्धारण गर्ने, डुंगामा एक जना माझी र ३ जना मलाहा (सहयोगी) अनिवार्य राख्नुपर्ने, यात्रुको लगत राखेर टिकट व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ।
यस्तै यात्रुलाई लाईफ ज्याकेटको व्यवस्था गरी अनिवार्य लाउन लगाउने, पानी परेको र बाढी आएको समयमा डुंगा नचलाउने, मादक पदार्थ सेवन गरी डुंगा चलाउन रोक लगाउने उपाय समेत सुझाइएको छ। यसको नियमन, कार्यान्वयन र व्यवस्थापन प्रकाशपुर र महेन्द्रनगर गा.वि.स. एवं स्थानिय प्रहरीबाट गराउने, यस कार्यमा स्थानियवासी समेतको सहयोग लिने भनिएको छ।
प्रतिवेदनमा स्थानिय युवाहरु अमृत खड्का, नेपाल केविरथ, रोजन राई, रामचन्द्र मोची, बाबुराम चन्द्रवंशीले डुंगामा सवार ५४ व्यक्तिको जिवितै उद्वार गरेको उल्लेख छ।